बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य निरन्तर ओरालो, डलर मजबुत हुँदा बिक्री दबाब बढ्यो

सोमबार, माघ १९ २०८२
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य निरन्तर ओरालो, डलर मजबुत हुँदा बिक्री दबाब बढ्यो
फाइल तस्बिर

काठमाडौं- अन्तर्राष्ट्रिय बजारका पछिल्ला मूल्य अनुसार सुनको मूल्य निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ। आज सुनको मूल्य करिब १.५ प्रतिशतले घटेर प्रतिऔँस अमेरिकी डलर ४,७९३ मा झरेको छ।

अमेरिकी डलरको मजबुत स्थितिलाई यस गिरावटको मुख्य कारण मानिएको छ। डलर बलियो हुँदा सुनजस्ता सुरक्षित सम्पत्तिहरू अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि महँगा पर्न जान्छन्, जसका कारण बिक्री दबाब बढ्ने गरेको विश्लेषकहरू बताउँछन्।

यसअघि सुनले प्रतिऔँस अमेरिकी डलर ५,५९४ को कीर्तिमानी उच्च स्तर समेत छोएको थियो। तर त्यसपछि आएको तीव्र गिरावटसँगै सुनको मूल्य लगातार उच्चाइबाट तल झर्ने क्रममा रहेको छ। विशेषगरी गत शुक्रबार सुनको मूल्य ऐतिहासिक रूपमा एकैदिन ठूलो मात्रामा घटेको थियो, जसको असर अझै बजारमा देखिइरहेको छ।

चाँदी बजारमा पनि मूल्य घट्ने क्रम जारी रहँदा सप्लाइ-डिमान्ड सन्तुलनमा असर परेको देखिएको छ। तीन हप्ताभन्दा तलको स्तरमा झरेको चाँदीको मूल्य बिहीबारको भारी गिरावटपछि केही सुधार देखिए पनि अझै अघिल्लो उच्च स्तरभन्दा धेरै तल रहेको छ।

बिहीबार प्रतिऔँस ५,६०० अमेरिकी डलरमा कारोबार भएको सुन शुक्रबार करिब ८ प्रतिशतले घटेर प्रतिऔँस करिब ४,९०० अमेरिकी डलर को आसपास झरेको थियो। बिहीबारको कारोबार सुनको इतिहासकै सबैभन्दा उच्च विन्दु मानिएको थियो।

चाँदीको मूल्यमा आएको गिरावट भने सुनको भन्दा पनि अझ तीव्र रह्यो। बिहीबार प्रतिऔँस १२० अमेरिकी डलर को उच्च बिन्दुमा पुगेको चाँदी शुक्रबार प्रतिऔँस करिब ८४ अमेरिकी डलर मा झरेको छ। यसअनुसार चाँदीको मूल्यमा एकैदिन झण्डै २७ प्रतिशतको गिरावट आएको थियो, जुन पछिल्ला १३ वर्षयताकै सबैभन्दा ठूलो दैनिक गिरावट हो।

विश्लेषकहरूका अनुसार अमेरिकी डलरको मजबुत अवस्थाले नाफा सुरक्षित गर्ने प्रक्रिया तीव्र बनाएको छ। ठूला लगानीकर्ताहरूले एकैपटक ठूलो परिमाणमा बिक्री गरेपछि सुन र चाँदी दुवैका मूल्य निरन्तर दबाबमा परेका हुन्।

साथै अपेक्षा अनुसार ब्याजदर कटौती नआउने सम्भावना र पछिल्ला आर्थिक तथ्यांकहरूले पनि लगानीकर्ताको धारणा कमजोर बनाउँदै गिरावटलाई निरन्तरता दिएको बताइएको छ।


प्रकाशित : सोमबार, माघ १९ २०८२०७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend