काठमाडौं- एनआईसी एसिया बैंकले प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक 'गोल्ड लोन' कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरसहितको गोल्ड लोन योजना सार्वजनिक गरेको हो।
योजनाअन्तर्गत ग्राहकहरूले ५० लाख रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्नेछन्। औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधासहितको प्रतिस्पर्धी ब्याजदरमा गोल्ड बार तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सकिनेछ।
साथै योजनाअन्तर्गत गरगहना खरिद गर्नका लागि पनि कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ। ग्राहकहरूले योजनाअन्तर्गतको कर्जा तोकिएका विभिन्न शाखाहरूबाट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूलाई सहज रूपमा कर्जा प्रदान गर्न र कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको प्रभावकारी तवरले समाधान गर्न एकद्वार प्रणालीको व्यवस्थाअनुरूप बैंकले 'कर्जा सहायता केन्द्र' समेत स्थापना गरेको छ।
