बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तल्लो सेती जलविद्युत आयोजना : पहुँच सडक निर्माण सुरु

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १८ २०८२
तल्लो सेती जलविद्युत आयोजना : पहुँच सडक निर्माण सुरु

तनहुँ- तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको पहुँच सडक निर्माण सुरु गर्न लागिएको छ। एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको लिमिटेडले यहाँबाट खेरजान पानीको सदुपयोग गर्दै तल्लो सेती जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको हो।

त्यसका लागि निर्माण व्यवसायीले आयोजनाको पहुँच सडक निर्माण तथा कार्यालय स्थापना सुरु गरेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीबाट प्राप्त हुन थप पानी प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो। तल्लो सेती जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको छ।

आयोजनाको जग्गा अधिग्रहण प्रक्रियासमेत अगाडि बढिसकेको छ। आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहणका प्रक्रिया अगाडि बढाउन प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको जनाइएको छ।

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका-६ र देवघाट गाउँपालिका-३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ। पानीको प्रवाहलाई देवघाट-३ र ४ हुँदै छ दशमलव आठ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको संगमदेखि करिब ५०० मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युतगृहमा खसाली विद्युत उत्पादन गर्ने योजना बनाइएको छ।

आयोजनाबाट बन्दीपुर-६, व्यास नगरपालिका-१३, १४, देवघाट गाउँपालिका-२, ३ र ४, ऋषिङ गाउँपालिका-१ र ३, आँबुखैरेनी गाउँपालिका-५ र ६, भरतपुर महानगरपालिका-२९ का केही भाग प्रभावित हुनेछन्।
देवघाट-४ गाईघाटमा अर्धभूमिगत विद्युतगृहको निर्माण गरी विद्युत उत्पादन गरिनेछ। उत्पादित विद्युतलाई तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी दमौली-नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत प्रणालीमा समाहित गरिनेछ। यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ।

अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ। आयोजनाबाट वार्षिक रूपमा ५२ करोड युनिट विद्युत उत्पादन हुनेछ। आयोजनाको अनुमानित लागि २५ अर्ब रुपैयाँ छ।

कम्पनीले आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ। साथै दातृ निकाय एडीबीबाट प्राप्त करिब तीन दशमलव पाँच मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत/निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो। रासस


प्रकाशित : आइतबार, माघ १८ २०८२१२:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend