काठमाडौं- विश्व बजारमा पछिल्लो केही समयदेखि तीव्र वृद्धि देखिएको सुन तथा चाँदीको मूल्यमा शुक्रबार एकाएक नाटकीय गिरावट आएको छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य उच्च रकमले घटेको हो।
सन् २०१३ पछिको सबैभन्दा ठूलो 'सिंगल डे सेल अफ'का कारण अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा नाटकीय गिरावट आएको हो। बिहीबार सुन प्रतिऔँस ५ हजार ६ सय अमेरिकी डलरमा कारोबार भएको थियो। यो सुनको मूल्यको ऐतिहासिक उचाइ थियो। तर शुक्रबार सुनको मूल्य करिब ८ प्रतिशतले घटेर प्रतिऔँस ४ सय ९ सय डलरमा झरेको छ।
त्यस्तै एकैदिन चाँदीको मूल्यमा भएको गिरावट अझ उच्च देखिएको छ। बिहीबार विश्व बजारमा प्रतिऔँस १ सय २० डलरको उच्च बिन्दुमा रहेको चाँदीको मूल्य शुक्रबार प्रतिऔँस ८४ डलरमा झरेको छ। चाँदीको मूल्यमा एकैदिन करिब २७ प्रतिशतको गिरावट देखिएको हो।
शुक्रबार विश्व बजारमा सुन तथा चाँदीको मूल्य एकैदिन १३ वर्षयताकै धेरै गिरावट देखिएपछि यसले तरंग ल्याएको छ। विश्वका प्रमुख कमोडिटी मार्केटहरूमा यो गिरावट आउनुमा विभिन्न कारणहरूलाई औँल्याइएको छ।
यसका प्रमुख कारणहरूमध्ये अमेरिकी फेडरल रिजर्भको नेतृत्वमा देखिएको अनिश्चितता हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'फेडरल रिजर्भ' (अमेरिकी केन्द्रीय बैंक) को नयाँ अध्यक्षको रूपमा केभिन वार्सलाई मनोनयन गर्ने संकेत गरेसँगै बजारमा हलचल मच्चिएको हो। वार्सलाई आक्रामक मौद्रिक नीतिको पक्षधर मानिने हुनाले लगानीकर्ताहरूले सुनजस्ता सुरक्षित क्षेत्रबाट बाहिर निस्केर अमेरिकी डलर र बन्डतिर लाग्ने संकेत गरेका छन्। यसको परिणामस्वरूप सुन तथा चाँदीको मूल्यमा ठूलो गिरावट आएको विश्लेषण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन्।
दोस्रो कारणमा 'ओभरबोट' बजारमा नाफा सुरक्षित गर्ने होड हो। प्राविधिक रूपमा पछिल्ला केही महिनायता सुन लगानीकर्ताहरूबाट अत्यधिक खरिद भएको अवस्थामा थियो। जब सुनले ५ हजार ६ सय डलरको बिन्दु छोयो त्यसपछि ठूला संस्थागत लगानीकर्ताहरूले आफ्नो नाफा सुरक्षित गर्न एकैपटक ठूलो परिमाणमा सुन बिक्री गरे। जसका कारणले गर्दा बजारमा 'चेन रियाक्सन' देखियो र सुनको मूल्य तीव्र गतिमा ओरालो लाग्यो।
तेस्रो कारणका रूपमा अमेरिकी डलरको सुधारात्मक पुनरागमनलाई लिइएको छ। पछिल्ला केही सातादेखि कमजोर बनेको डलरमा शुक्रबार सुधार देखिएको हो। डलर बलियो हुँदा अन्य मुद्रामा सुन खरिद गर्नेहरूका लागि यो महँगो पर्न गयो जसले गर्दा मागमा कमी आई मूल्य घट्न पुगेको विज्ञहरूको भनाइ छ।
विज्ञहरूका अनुसार यो गिरावट सुनको 'बुल मार्केट' अन्त्य भएको संकेत भने होइन। यो केवल एक मार्केट करेक्सन हो। विश्वव्यापी रूपमा अझै पनि भू-राजनीतिक तनाव कायम रहेकाले सुनमा फेरि आकर्षण बढ्ने सम्भावना कायमै छ।
विश्व बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य कमी आएकाले त्यसको प्रत्यक्ष प्रभाव आइतबार नेपाली बाजरमा पनि पर्ने छ। शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २० हजार ६ सय रुपैयाँले घटेको थियो। आइतबार योभन्दा बढीले सुन र चाँदीको मूल्य पनि घट्ने छ।
