बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तनहुँ जलविद्युत आयोजना : तीनवटा प्याकेजमा निर्माण कार्य तीव्र

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ १७ २०८२
तनहुँ जलविद्युत आयोजना : तीनवटा प्याकेजमा निर्माण कार्य तीव्र

आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना (हेडवर्क्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २ सय २० केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

तनहुँ- तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ। ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजमा कामलाई तीव्र गतिमा अघि बढाइएको हो।

आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना (हेडवर्क्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २ सय २० केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ। यो प्याकेजमा ४७ प्रतिशत प्रगति भएको भण्डारीले बताए। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण कार्य सकिएको छ।

मुख्य बाँध निर्माणका लागि सेती नदीलाई विसं २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो। विसं २०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सकिएको जनाइएको छ।

उक्त कार्य सम्पन्न भएसँगै मुख्य बाँधको कंक्रिटिङ तथा सम्बन्धित ग्राउटिङ कार्य सुरु गर्न आवश्यक पूर्वाधार तयार भएको भण्डारीको भनाइ छ। 'आयोजनाको १ सय ४० मिटर अग्लो बाँध निर्माणका लागि विसं २०८१ चैत ७ गते पहिलो कंक्रिट राखी कंक्रिटिङ कार्यको सुरुवात गरिएको थियो,' उनले भने, 'मुख्य बाँधको कंक्रिट, कोर ड्रिलिङ, ग्राउटिङ लगायतका काम जारी छन्।'

प्याकेज २ अन्तर्गत विद्युतगृह तथा सम्बन्धित उपकरणको काम चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। यस अवधिसम्म भूमिगत संरचनाहरू निर्माणका लागि खन्ने कार्य सम्पन्न गरी अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताए। विद्युतगृह, केवल सुरुङ, सर्च ट्यांक, टेलरेसलगायतका संरचनाहरूको मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको यस प्याकेजको प्रगति ७२.५ प्रतिशत छ।

भण्डारीका अनुसार विद्युतगृहको सिभिल कार्य करिब सम्पन्न भएको छ भने इलेक्ट्रोमेकानिकल काम जारी छ। विद्युतगृहमा छाना लगाउने, पानी फाल्ने लगायतका काम भइरहेका छन्।

प्याकेज ३ प्रसारण लाइनअन्तर्गत केइसी इन्टरनेशनल लिमिटेड भारतले दमौली भरतपुर २ सय २० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरहरूको जग हाल्ने काम सम्पन्न गरेको छ। यस प्याकेजको प्रगति ७४.५ प्रतिशत छ। यसका अतिरिक्त वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउने अनुमतिका लागि उर्जा, जलस्रोत तथा सिचाइँ र अर्थ मन्त्रालयसँग आवश्यक पहल भइरहेको भण्डारीले बताए।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ। रासस


प्रकाशित : शनिबार, माघ १७ २०८२१३:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend