बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माणसँगै सहज बन्यो सवारी आवागमन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १५ २०८२
कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माणसँगै सहज बन्यो सवारी आवागमन

सिरहा- हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवतजावत सहज भएको छ।

वर्षौंदेखि भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना-ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको छ। हप्ता दिनअघिदेखि नै सार्वजनिक सवारी चल्न थालेको जानकारी दिँदै सिरहा नगरपालिका-६ का वडाध्यक्ष इन्द्रजित यादवले भने, 'हाल सबै प्रकारका सवारीसाधनहरूको सहज आवत-जावत सुरु भइसकेको छ। यसले स्थानीय बासिन्दा र छोटो रुटबाट मधेस प्रदेशको राजधानी जनकपुर जाने यात्रुलाई ठूलो राहत मिलेको छ।'

गत मंसिर ५ गते निवर्तमान भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थलगत अनुगमन गर्दै पुनर्निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिएका थिए। त्यस क्रममा उनले काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनी दिँदै तत्काल अस्थायी रूपमा आवत-जावतको व्यवस्था मिलाउनसमेत निर्देशन दिएका थिए। घिसिङको निर्देशनलगत्तै निर्माण कम्पनीले ह्युमपाइप राखेर डाइभर्सन तयार पारेको हो।

यसअघि स्थानीय युवाले निर्माण गरेको बाँसको पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। बर्खायाममा बाँसको पुल बाढीले बगाउँदा स्थानीयले डुंगाको सहारामा ज्यान जोखिममा राखेर नदी वारपार गर्दै आएका थिए।

१४ वर्षपछि पुल निर्माण अन्तिम चरणमा

विगत १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको यहाँको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल दैनिक ४० देखि ५० जना कामदार ‘फिनिसिङ’ र मर्मतको काममा खटिएका निर्माण कम्पनीले जनाएको छ।

पप्पु लुम्बिनी जेभीले ठेक्का पाए पनि पप्पु कन्सट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले यहाँ काम गरिरहेको छ। निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले भने, 'हामी बाँकी संरचनात्मक कामहरू द्रुत गतिमा गरिरहेका छौँ, असार मसान्तभित्र पुलबाटै सवारीसाधन सञ्चालन हुने गरी काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ।'

विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने भन्दै सुरु गरिएको पुल २०७८ साल असारमा आएको बाढीले दुईवटा पिलर भासिएर चारवटा स्ल्याबमा क्षति पुर्‍याएपछि समस्या भएको हो। पुल निर्माणमा ढिलाइ हुँदा सिरहा र धनुषाका स्थानीयवासी जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य छन्। स्थानीय युवा सन्तोष यादवका अनुसार तत्कालीन मन्त्री घिसिङको पहलपछि पुल निर्माणले गति लिएको हो।

उनले भने, 'लामो समयसम्म काम हुनसकेन, तर नागरिक सरकारको पहलपछि काम सम्पन्न हुने चरणमा पुगेको छ। डाइभर्सनले तत्काललाई सजिलो बनाए पनि अब तोकिएको समयमै पुल निर्माण सम्पन्न हुनुपर्छ। त्यसमा सबै गम्भीर बन्नुपर्छ।'

हुलाकी राजमार्गको मेरुदण्ड मानिने यो पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको कष्टकर यात्रा अन्त्य हुनेछ। रासस


प्रकाशित : बिहीबार , माघ १५ २०८२१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend