बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बागलुङस्थित ‘ब्लू हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १३ २०८२
बागलुङस्थित ‘ब्लू हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ- बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९ स्थित ‘ब्लू हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ। आगामी असार मसान्तसम्म २ करोड ५० लाख रुपैयाँबराबरको लागतमा भौतिक संरचना तयार हुने गरी तीव्र गतिमा निर्माण भइरहेको हो।

यसअघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा ७० लाख रुपैयाा खर्च गरिसकेको छ। आँखैअघि देखिने दुई दर्जन हिमशृंखला र बागलुङ बजारको दृश्यले बागलुङको डोयलाई पर्यटकीय केन्द्र बनाउनका लागि नगरपालिकाले ‘ब्लू हिल’ नामकरण गरेको थियो।

ब्लू हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको हो। २५ करोड रुपैयाँको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा उल्लेख गरिएको छ।

गत वर्ष पहिलो चरणअन्तर्गत ७० लाख रुपैयाँको र चालु आर्थिक वर्षमा दोस्रो चरणअन्तर्गत २ करोड ५० लाख रुपैयाँको काम भइरहेको बागलुङ-९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए। उनका अनुसार अहिले ब्लू हिलमा निर्माण गरिने २० फिट अग्लो शिवको मूर्ति राख्नका लागि आवश्यक दुईतल्ले पक्की भवन बनाउने काम भइरहेको छ।

डोयको नीलो पहाडलाई ब्लू हिलका रूपमा परिणत गर्न नगरपालिकाले बजेट विनियोजन गरी लगानी गरिरहेको छ। यस वर्ष २ करोड ५० लाख रुपैयाँको पूर्वाधारसहित निर्माण कम्पनी क्वालिसट रिन्युयबल इनर्जीले तीव्रताका साथ शिवमूर्ति निर्माणको काम गरिरहेको छ।  प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार बनाएर पर्यटक भित्र्याउने उद्देश्य राखिएको बागलुङ नगरपालिकाले जनाएको छ।

पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लू हिल नामकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न  डीपीआर बनाएर काम अघि बढाएको थियो।

मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लू हिल’ नामकरण गरेपछि नगरपालिकाले लगानी गरिरहेको बागलुङ-९ का वडाध्यक्ष थापाले जानकारी दिए। 'नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स-साना पूर्वाधार पछि बन्दछन्,' उनले भने, 'पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ।'

ब्लू हिल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २४ करोड ५६ लाख २२ हजार रुपैयाँको डीपीआर तयार गरेको थियो। गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको गियो। यस क्षेत्रमा वनभोजस्थल, ध्यानकेन्द्र, दृश्य अवलोकनस्थल, जिमहल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गरिने डीपीआरमा उल्लेख छ।

दृश्यावलोकनका लागि ब्लू हिलमा आन्तरिक पर्यटक पुर्‍याउन नगरपालिकाको ठूलो लगानी भइरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। नगरपाकिलाको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आन्तरिक बजेटबाट ठूलो लगानी गरिरहेको बताउँदै ब्लू हिलमा थामिनसक्नु धार्मिक पर्यटक भित्रने उनले विश्वास व्यक्त गरे।

'नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय प्राकृतिक रूपमा सुन्दर र हरियाली छ। आँखैअगाडि हिमाल र बागलुङ बजार देखिन्छ। प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी पक्की संरचना निर्माणले गति लिएको छ। अहिले एकसाथ १६ वटा खम्बा खडा गरिएको छ,' नगरप्रमुख श्रेष्ठले भने, 'ब्लू हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने गरी नामकरण गरेका छौँ। मौसम खुलेको समयमा यहाँ आउने जोकोहीले हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमालसँगै बागलुङ बजार देख्न सकिन्छ।'

समुद्री सतहबाट करिब २ हजार २ सय मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेपछि ब्लू हिलले चर्चा पाउन थालेको छ। विस्तृत परियोजना प्रतिवेदनका अनुसार योजनाले पूर्णता पाउन भने समय लाग्ने छ। रासस


प्रकाशित : मंगलबार, माघ १३ २०८२१७:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend