काठमाडौं- सुर्खेतमा करिब एक वर्षअघि एउटा विद्युतीय अटो रिक्सा दुर्घटना भयो। रिक्साले पैदलयात्रीलाई ठक्कर दियो। घाइते भएका पैदलयात्रीको उपचारका क्रममा केही दिनमै ज्यान गयो। सवारी ज्यानअन्तर्गतको यो मुद्दाले अहिले राज्य संयन्त्रहरू कानूनको व्याख्यामा एकअर्कालाई देखाउँदै रुमल्लिरहेका छन्।
ई-अटो रिक्सा दुर्घटनामा पैदलयात्रीको मृत्युपछि मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिए। प्रहरीको अनुसन्धानपछि विषय सवारी ज्यान मुद्दामा जिल्ला अदालत सुर्खेत पुगेको छ।
नेपाल सरकार वादी रहेको उक्त मुद्दामा प्रहरीले रिक्सा चालकसँग 'सी' वर्गको सवारी चालक अनुमति पत्र भएको तर दुर्घटनाको बेला उनले ई-अटो रिक्सा चलाएकाले उनीसँग लाइसेन्स नै नभएको जिकिर गरिरहेको छ। 'सी' वर्गको लाइसेन्समा पेट्रोलबाट चल्ने तीनपांग्रे अटो रिक्सा चलाउन पाउने तर उनले 'सी वान' वर्गको सवारी चलाएको दाबी प्रहरीले गरेको छ।
प्रहरीको यस्तो जिकिरका आधारमा अदालतले सोहीअनुसार भनिदिएमा अन्य सबै वर्गका लाइसेन्सबाहकले विद्युतीय सवारी चलाउन नपाउने विषय स्थापित हुन सक्ने छ।
सवारी चालक अनुमतिपत्रमा वर्ग विभाजनमा 'ए' मा मोटरसाइकल, स्कुटर, मोपेड। 'बी' मा कार, जीप, डेलिभरी भ्यान। 'सी' मा टेम्पो अटो रिक्सा र 'सी वान' मा ई-अटो रिक्सा उल्लेख गरिएको छ। रिक्साको लाइसेन्सले ई-अटो रिक्सा चलाउन पाइन्छ कि पाइँदैन? पाइँदैन भने मोटरसाइकलको लाइसेन्समा विद्युतीय मोटरसाइकल चलाउन पाइने कि नपाइने? कारको लाइसेन्सले विद्युतीय कार चलाउन पाइने कि नपाइने?
ई-अटो रिक्सा चालक खुशीराम चौधरी प्रतिवादी रहेको ज्यान मुद्दा अहिले पनि जिल्ला अदालत सुर्खेतमा चलिरहेको छ। यो रिक्सा यातायात व्यवस्था कार्यालय लुम्बिनी प्रदेशमा २०७९ माघ ५ गते दर्ता भएको थियो। सरुवा सहमति भइ कर्णालीमा पुगेको थियो।
खुशीराम चौधरीले चलाएको 'कर्णाली प्रदेश ०२००१ ह ११४२' नम्बरको ई-अटो रिक्सा चलाउन कुन वर्गको सवारी चालक अनुमितपत्र आवश्यक पर्ने हो भन्ने विषय निरुपण हुन नसक्दा मुद्दाको किनारा लाग्न सकेको छैन।
चौधरीसँग 'सी' वर्गको सवारी चालक अनुमतिपत्र रहेको तर जिल्ला प्रहरी कार्यालय सुर्खेतले मृतकका आफन्तको जाहेरीपछि ई-अटो रिक्सा (अटो) चलाउन उनीसँग 'सी १' वर्गको लाइसेन्स नभएको जिकिरसँगै सवारी ज्यान मुद्दा दायर गरेको हो। ज्यान मुद्दामा चौधरी अहिले पुर्पक्षका लागि थुनामा छन्।
सवारी ज्यान मुद्दा भए पनि यसले सवारी चालक अनुमतिपत्रको वर्ग विभाजनबारे व्याख्या गर्नुपर्ने अवस्था पनि सिर्जना भएको छ। जिल्ला अदालत सुर्खेतले यातायात व्यवस्था कार्यालय सुर्खेतलाई त्यसमा चालक अनुमतिपत्र कुन आवश्यक पर्ने हो स्पष्ट खुलाएर पठाउन दुईपटक पत्राचार गरिसकेको छ।
यतायात व्यवस्था कार्यालय सुर्खेतले आफ्नो मन्त्रालयलाई नसोधी सिधै यातायात व्यवस्था विभाग काठमाडौंलाई जवाफका लागि पत्राचार गरेको छ। विभागले भने प्रचलित कानून र प्रदेशले बनाएको आफ्नै कानूनका आधारमा वर्गीकरण खुलाउन सक्ने जवाफ पठाएको छ।
हाल प्रादेशिक यातायात कार्यालयहरू प्रदेश यातायात ऐनअनुसार सञ्चालनमा छन्। संघीय यातायात ऐन नबनेकाले विभागले प्रादेशिक ऐनलाई खण्डन हुनेगरी दिर्नेशन दिनसक्ने अवस्था देखिँदैन।
सूर्य थापाको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी खुशीराम चौधरी भएको सवारी ज्यान मुद्दामा जिल्ला अदालत सुर्खेतले पहिलोपटक २०८२ पुस १४ मा यातायात व्यवस्था कार्यालय सुर्खेतसँग आवश्यक सवारी चालक अनुमतिपत्रबारे जानकारी माग्दै आदेश गरेको थियो। 'ई अटो रिक्सा चलाउन के कुन वर्गको सवारीचालक अनुमतिपत्रको आवश्यकता पर्दछ? उनको सवारी चालक अनुमतिपत्रले उक्त सवारी चलाउन मिल्छ कि मिल्दैन?' भनेर सोधेको थियो।
जसमा सवारीको वर्ग यकिनको सम्बन्धमा यातायात व्यवस्था कार्यालय सुर्खेतको प्राविधिक परीक्षण शाखाबाट मापदण्डका सम्बन्धमा प्रष्ट हुन नसकेको भनी प्रतिवेदन पेस भएको थियो। अदालतले सोअनुसार वर्ग निर्धारण भएको छ कि छैन? सोको वर्ग निर्धारण यथाशीघ्र पहल गरी वर्ग निर्धारण भएपश्चात सोबमोजिमको जवाफ पठाउनू भनी यातायात व्यवस्था कार्यालय पुन: भनेको छ।
'अटो रिक्सा तथा 'सी' वर्गको सवारी चालक अनुमतिपत्र सम्बन्धमा यातायात व्यवस्था विभाग मिनभवन काठमाडौंले २०७२ पुस १४ मा लाइसेन्स र सवारीको सम्बन्धमा तोकिएको प्रकृया पूरा गरी निर्धारण गर्ने भनि निर्देशन गरिएको विषय उल्लेख गर्दै यातायात व्यवस्था कार्यालय सुर्खेतले जिल्ला अदालत सुर्खेतलाई जवाफ पठाएको छ।
जसमा लाइसेन्सको वर्ग यकिन प्रयोजनार्थ प्रचलित अनलाइन ईडीएल प्रणालीको अभिलेखमा प्रयोगात्मक परीक्षाको लागि प्रयोग गरिएको सवारी साधनको सम्बन्धमा नखुलाइएको तथा वर्ग 'सी'मा रहेको टेम्पो र अटो रिक्सा कट्टागरी ई रिक्सा उल्लेख गरेको वा सो कुरा पुष्टि हुनेगरी कुनै कैफियत विवरणसमेत उल्लेख गरेको नदेखिएको लाइसेन्स जारी गर्ने निकाय यातायात व्यवस्था कार्यालय बाँकेको अभिलेखमा रहेको र सोको परीक्षा समिति सोही निकायमा रहने हुँदा थप विवरण सोही निकायबाट यकिन गर्न सकिने जवाफमा उल्लेख छ।
साथै सवारीको वर्ग यकिनको सम्बन्धमा प्राविधिक प्रशिक्षण शाखाबाट मापदण्डका सम्बन्धमा प्रष्ट हुन नसकेको भनि प्रतिवेदन पेस हुन आउँदा सोको लागि विभागमा पत्राचार गरिएकोमा जवाफ प्राप्त भएपश्चात निर्धारण गरी उपलब्ध गराउने विषय यातायात व्यवस्था कार्यालय सुर्खेतले उल्लेख गरेको छ।
यस्तै यातायात व्यवस्था कार्यालय सुर्खेतले लाइसेन्सको 'सी' वर्गले कुन सवारी चलाउन पाउने भनेर खुलाइ पत्र पठाएको छ। उक्त पत्रमा भनिएको छ- ‘सी वर्गको सवारी चालक अनुमतिपत्रमा टेम्पो र अटो रिक्सा उल्लेख गर्ने यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० (संशोधन) को बुँदा नं १२.२७ बमोजिम जानकारीको लागि अनुरोध छ।’
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० (संशोधन) को बुँदा नं १२.२७ मा चालक अनुमतिपत्रमा राख्नुपर्ने कोड नम्बरको विषय उल्लेख छ। त्यसले कुन सवारी चालक अनुमतिपत्रको कोड के हुने भन्नेबाहेक अन्य विषय खुल्दैन। त्यसमा संघीय संरचनाअनुसार सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन भइ संघीय सवारी तथा यातायात व्यवस्था ऐन जारी भएपछि उल्लिखित कोड नम्बरमा परिमार्जन गरी प्रदेशअनुसारको कोड नम्बर लागु गर्न यातायात व्यवस्था विभागले निर्देशन गर्ने विषय उल्लेख छ।
वर्ग 'सी'को लाइसेन्सबाहकले ई-अटो रिक्सा चलाउन पाउने वा नपाउने विषयको स्पष्ट जवाफ हालसम्म कुनै निकायले दिन सकेका छैनन्। त्यही जवाफको पर्खाइमा खुशीराम थुनामा छन्।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारी ज्यान मुद्दामा लाइसेन्स हुँदा र नहुँदा हुने सजायको व्यवस्था नै फरक-फरक छ। यस्तोमा दुर्घटनामा खुशीरामको लापरबाही देखिएर सजाय हुने अवस्था आएमा उनीसँग लाइसेन्स भएको मानिन्छ या मानिँदैन? सवारी चालक अनुमतिपत्रको वर्ग 'सी' मा भएको टेम्पो, अटो रिक्सा चलाउन पाउने नियमले उनले ई-अटो रिक्सा चलाउन पाउँछन् कि पाउँदैनन्? राज्यका निकाय जवाफविहीन बनिरहेका छन्।
