बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्यटकीय आकर्षणको केन्द्र बन्दै वेतना र भेलागुढी सिमसार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ११ २०८२
पर्यटकीय आकर्षणको केन्द्र बन्दै वेतना र भेलागुढी सिमसार

प्राकृतिक सौन्दर्य, जैविक विविधता र ऐतिहासिक स्मृतिको सङ्गम बनेको यो सिमसार क्षेत्रलाई स्थानीयले गर्वका साथ ‘झापाको हरित मुटु’ भन्न थालेका छन्।

काठमाडौं- प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको मोरङको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ। हिउँदका महिनामा प्रायः दैनिक पाँच सयको हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिंगर, साथै हरिणलगायत जीवजन्तुले लोभ्याउने गरेको छ।

सुुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पुर्वतर्फ गएपछि हरियो वनले ढपक्कै ढाक्छ, त्यससँगै केही मिटर पर पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा वेतना सिमसार रहेको छ।

दुई प्रजातिका वेत वनस्पतिको जंगल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भट्टराईले बताए। यहाँ विशेषगरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्यसँगै चरा, माछा र कछुवा भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उनको भनाइ छ।

राजमार्गसँगै जोडिएकाले जाडोयाममा वनभोज खान आउनेको दैनिक घुुइँचो नै हुने गरेको समितिका सहसचिव राजन प्रसाईँ बताउँछन्। उनका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुंगाको पनि व्यवस्था गरिएको छ। पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको सहयोगमा २० लाखको लागतमा पानीको फोहोरा पनि निर्माण सुुरु गरिएको बताए।

करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन्। साथै अतिसङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा फेलापरेको अध्यक्ष शम्भु भट्टराईले जानकारी दिए। यहाँ पाइने वनस्पति, पशुपन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उनको भनाइ छ। उनका अनुसार विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छन्।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पूर्वी नेपालको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताए। पछिल्लो समय यस सिमसार क्षेत्रमा विभिन्न जीवविज्ञहरू जीव अनुसन्धानका क्रममा समेत यहाँ आउने गरेको अध्यक्ष भट्टराई बताउँछन्। 'यहाँका जीवजन्तुको संरक्षण हाम्रो मुख्य दायित्व भएकाले संरक्षणमा जोड दिएका छौँ' उनले भने।

भेलागुढी सिमसार नयाँ पर्यटकीय गन्तव्य

पूर्वी झापामा लुकेको हरियो संसार अहिले घुमफिरको नक्सामा देखिन थालेको छ। हल्दिबारी गाउँपालिका-२ मा अवस्थित भेलागुढी सिमसार तथा सहिद स्मारक उद्यान (पार्क) अहिले आन्तरिक पर्यटकका लागि नयाँ मात्र होइन, आकर्षक गन्तव्य बन्दै गएको छ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता र ऐतिहासिक स्मृतिको सङ्गम बनेको यो सिमसार क्षेत्रलाई स्थानीयले गर्वका साथ ‘झापाको हरित मुटु’ भन्न थालेका छन्।

हल्दिबारी, भद्रपुर र बिर्तामोड तीनवटै पालिकाको सङ्गमस्थलमा करिब ९६ हेक्टर क्षेत्रमा फैलिएको यो सिमसार वनभोज, पारिवारिक घुमफिर, विद्यार्थी अध्ययन भ्रमण र प्रकृति अवलोकनका लागि उपयुक्त स्थलका रूपमा विकास हुँदैछ। विशेषगरी हिउँद र वसन्तयाममा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।

केही वर्षअघिसम्म झाडी र जंगलले ढाकिएको यो क्षेत्र आज व्यवस्थित पर्यटकीयस्थलको पहिचान बनाउँदैछ। भेलागुढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुण्यप्रसाद लम्साल भन्छन्, 'पहिले यहाँ खासै मान्छे आउँदैनथे, स्थानीय सरकारले गुरुयोजना बनाएर काम थालेपछि भेलागुढी चिनिन थाल्यो।'

यहाँ हाल २८ टहराघर, खानेपानीको व्यवस्था र प्रत्येक टहरामा विद्युतीकरण गरिएको छ। विद्युतीय सुविधाले वनभोजका समूहलाई आवश्यक उपकरण प्रयोग गर्न सहज बनाएको अध्यक्ष लम्साल बताउँछन्। उनका अनुसार हाल बिदाको दिन २० देखि २५ समूह पिकनिक मनाउन यो ठाउँमा आउने गरेका छन्भने अन्य दिनमा समेत यहाँ आएकै हुन्छन्।

झापाकै दमकबाट महिला समूहसहित पिकनिक खान आउनुभएकी प्रमिला राजवंशीले भेलागुढीबारे ‘टिकटक’बाट थाहा पाएको बताए। 'हाम्रो सहकारीको अर्को समूह पहिले नै आएर गइसकेको रहेछ, त्यसैले हामी पनि आयौँ', उनी भन्छन्, 'यति राम्रो ठाउँ हाम्रो जिल्लामै रहेछ भन्ने थाहा पाएर खुसी लाग्यो।'

अर्जुनधाराबाट विद्यालय आएका कक्षा ११ का विद्यार्थी विराज हुमागाईँ पनि उत्साहित देखिन्थे। 'झापामै यस्तो रमाइलो र शान्त वातावरण पाउँदा निकै खुसी लाग्यो', उनी भन्छन्, 'टाढा जानु नपरी आफ्नै नजिक यस्तो गन्तव्य हुनु राम्रो कुरा हो।'

भेलागुढी सिमसारलाई पर्यटकीय गन्तव्य बनाउने सपना भने नयाँ होइन। भेलागुढी सिमसार क्षेत्र विकास उपभोक्ता समितिका पूर्वअध्यक्ष नारायणप्रसाद लुइँटेल २०६४ सालमै यसको सम्भावना देखेर काम सुरु गरिएको स्मरण गर्छन्। 'त्यतिबेला भूमिसुधार कार्यालयबाट एक लाख बजेट ल्याएर संरक्षण र विकासको सुरुआत गरेका थियौँ, तर बजेट अभावले काम निरन्तर हुन सकेन', उनी भन्छन्।

संविधान जारी भएसँगै भने स्थानीय सरकारको प्राथमिकतामा सिमसार परेको छ। हल्दिबारी गाउँपालिकाले २०७६ सालदेखि गुरुयोजना बनाएर चरणबद्ध रूपमा पूर्वाधार निर्माण सुरु गरेको पूर्वअध्यक्ष लुइँटेल बताउँछन्।

सङ्घीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा भेलागुढी सिमसारमा हालसम्म उल्लेख्य लगानी भइसकेको छ। संघीय सरकारअन्तर्गत पर्यटन प्रवर्द्धन साझेदारी कार्यक्रमबाट एक करोड ३० लाख, प्रदेश सरकारबाट ५० लाख र पालिकाबाट थप बजेट लगानी गरिएको अध्यक्ष लम्साल बताउँछन्।

हालसम्म रु आठ करोड ३९ लाखको ‘इस्टिमेट’ अनुसार सामुदायिक सङ्ग्रहालय, झाडी सफाइ, तारबार, बाटो विस्तार, देउनियाँ खोलामा तटबन्ध, काठेपुल, पोखरी तटबन्ध, रिङरोड, सामुदायिक भवन र शौचालय निर्माणजस्ता काम सम्पन्न भएको उनले बताए। तर आर्थिक वर्ष २०७६/७७ मा विनियोजित पाँच करोडको योजना अधुरै रहेको अध्यक्ष लम्सालले जानकारी दिए। 'ठेक्का पाएको कम्पनीले जिपलाइन, फोहोरा, तटबन्धलगायत संरचना पूरा गरेको छैन', उनले भने, 'यी काम पूरा भए भेलागुढी अझ आकर्षक बन्ने थियो।'

सिमसार व्यवस्थित बन्दै जाँदा स्थानीयका लागि रोजगारीको अवसर पनि खुलेका छन्। जोसना गिरी भन्छिन्, 'पर्यटक बढेपछि चिया, खाजा र साना व्यापारको सम्भावना देखिएको छ। अधुरा योजनाका काम पूरा भए युवाले गाउँमै केही गर्ने अवसर पाउन सक्छन्।'

भेलागुढी केवल घुम्ने ठाउँमात्र होइन, जैविक विविधताको दृष्टिले पनि महत्त्वपूर्ण छ। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी, जलचर र वनस्पति पाइन्छन्। सहिद स्मारक पार्कले यस क्षेत्रलाई ऐतिहासिक र भावनात्मक महत्व पनि दिएको छ।

स्थानीय कुमार क्षेत्रीका अनुसार उचित पूर्वाधार, पहुँच र प्रचारप्रसार भए भेलागुढी सिमसार झापाकै प्रमुख आन्तरिक पर्यटन केन्द्र बन्न सक्छ। बिर्तामोड र भद्रपुरजस्ता सहर नजिक हुनु यसको ठूलो फाइदा रहेको उनको भनाइ थियो।

प्राकृतिक सौन्दर्य, ऐतिहासिक स्मृति र स्थानीयको मेहेनत मिसिएको भेलागुढी सिमसार आज सम्भावनाको ढोकामा उभिएको छ। बाँकी संरचना पूरा भई दिगो व्यवस्थापन हुनसके यो सिमसार साँच्चै झापाको हरित मुटुका रूपमा स्थापित हुनेमा स्थानीय विश्वस्त देखिन्छन्। रासस


प्रकाशित : आइतबार, माघ ११ २०८२११:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend