बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लिपुलेकमुनि छाङरु र तिंकरका मतदाता मतदानका लागि सदरमुकाम जानुपर्ने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ११ २०८२
लिपुलेकमुनि छाङरु र तिंकरका मतदाता मतदानका लागि सदरमुकाम जानुपर्ने

भौगोलिक विकटता र मौसमी अवस्थाका कारण लिपुलेक मुनिका छाङरु तथा तिंकरका मतदाता हाल खलंगामै बसोबास गरिरहेका छन्।

दार्चुला- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यासँ गाउँपालिका–१ का छाङरु र तिंकर गाउँका मतदातालाई लक्षित गरी सदरमुकाम खलंगामा अस्थायी मतदान केन्द्र तोकिएको हो।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार भौगोलिक विकटता र मौसमी अवस्थाका कारण लिपुलेक मुनिका छाङरु तथा तिंकरका मतदाता हाल खलंगामै बसोबास गरिरहेका छन्।

सोही कारण उनीहरूलाई सहज रूपमा मतदान गर्न खलंगामै मतदान केन्द्र कायम गरिएको हो। छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिंकरका मतदाताका लागि मोति महिला संघ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको उनले बताए।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कैलाशपति आधारभूत विद्यालयमा ३ सय ७५ र मोति महिला संघ आधारभूत विद्यालयमा २ सय ४४ मतदाता सूचीकृत छन्। विसं २०७९ को निर्वाचनमा छाङरुमा ३ सय ८३ र तिंकरमा २ सय ३४ मतदाता रहेका थिए। यसअघि स्थानीय तह निर्वाचन पनि ती क्षेत्रमै सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए।

यसपटक गत मङ्सिर महिनामै स्थानीय बासिन्दा सदरमुकाम झरेपछि यही माघ ५ गते मतदान केन्द्र खलंगामै राख्न माग गरिएको थियो। सो मागलाई मध्यनजर गर्दै अस्थायी मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए। सदरमुकाममै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ।

जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि एक सय १२ मतदानस्थल र एक सय ४३ मतदान केन्द्र तोकिएका छन्। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ।

मतदाता सङ्ख्याको विवरण अनुसार यसपटक दार्चुलामा कुल ९२ हजार ९ सय ४८ मतदाता रहेका छन्। तीमध्ये ४७ हजार ७ सय ५५ पुरुष र ४५ हजार एक सय ९३ महिला मतदाता रहेका छन्। निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी तीव्र पारिएको प्रजिअ पौडेलले बताए। रासस


प्रकाशित : आइतबार, माघ ११ २०८२११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend