बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कांग्रेसले सभापति गगन थापालाई घोषणा गर्‍यो प्रधानमन्त्रीको उम्मेदवार

शुक्रबार, माघ ९ २०८२
कांग्रेसले सभापति गगन थापालाई घोषणा गर्‍यो प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरेको छ।

शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने निर्णय गरेको हो। केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको उम्मेदवार घोषणा सम्बन्धी प्रस्ताव पेश गरेका थिए, जसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति शर्माले प्रस्ताव पारित भएको जानकारी दिए। उनका अनुसार सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नुपर्ने सातवटा कारण प्रस्तावमा समेटिएका छन्।

उपसभापति शर्माले यस निर्णयलाई मुलुकको ‘विशिष्ट परिस्थितिको माग’ का रूपमा व्याख्या गरेका छन्। ‘सामान्यतया निर्वाचनपछि मात्रै प्रधानमन्त्री पदका लागि व्यक्ति अघि सार्ने प्रचलन रहिआएको छ। तर नेपाली कांग्रेसले चुनावी अभियानकै क्रममा आफ्नो उम्मेदवार सार्वजनिक गर्नु मुलुकको विशिष्ट परिस्थितिलाई सही ढंगले सम्बोधन गर्ने प्रयास हो,’ प्रस्तावमा उल्लेख गरिएको छ।

प्रधानमन्त्रीको उम्मेदवार निर्वाचनअघि नै घोषणा गर्दा मतदातालाई भोलिको अन्योलताबाट मुक्त गराउने उद्देश्य रहेको पनि प्रस्तावमा उल्लेख छ।

उपसभापति शर्माका अनुसार जेन–जी आन्दोलनपछिको परिवर्तनलाई आत्मसात गर्दै त्यसका मुद्दालाई स्वामित्व लिएर मुलुकमा सुशासन स्थापित गर्ने संकल्प र योजना कांग्रेसको विशेष महाधिवेशनले लिएको छ। सभापति थापाले परिवर्तित समय र जनभावनालाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्न सक्ने विश्वास पार्टीले लिएको शर्माले बताए।

प्रस्तावमा चौथो कारणका रूपमा प्रधानमन्त्रीमा आवश्यक परिपक्वता सभापति थापामा रहेको उल्लेख गरिएको छ। ‘जुझारु विद्रोही छवि मात्रै होइन, प्रतिकूल समयमा संयम कायम राख्दै विषयवस्तुलाई परिपक्व ढंगले समाधान गर्न सक्ने क्षमता पनि गगन थापासँग छ,’ प्रस्तावमा भनिएको छ। ‘उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हुन्छ न त दीर्घजीवी। देशको प्रधानमन्त्री बन्ने व्यक्तित्वले आवेग होइन, संयम र सौम्य प्रवृत्तिलाई अघि बढाउनुपर्छ। त्यो सामर्थ्य भएकै कारण गगन थापालाई प्रधानमन्त्री पदका लागि सर्वाधिक उपयुक्त ठानेर अघि सारिएको हो।’

त्यसैगरी, सभापति थापा विगतको लोकतान्त्रिक संघर्षमा सबल र त्यसपछिको सत्ता अभ्यासमा अब्बल रूपमा प्रमाणित भइसकेको नेताका रूपमा स्थापित भएको दाबी पनि प्रस्तावमा गरिएको छ।


प्रकाशित : शुक्रबार, माघ ९ २०८२१६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend