काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा लागेका बालेन्द्र शाह (बालेन) बारे आम चासो धेरै छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अघि सारेकाले पनि उनीबारे चासो व्यापक बढेको छ। पछिल्लो समय उनले चुनाव प्रचरमा प्रयोग गरिरहेको एउटा गाडीको चर्चा चलिरहेको छ।
बालेन शाहले चुनावी प्रचारका क्रममा कालो रंगको नयाँ डिफेन्डर चढेको भिडियो तथा फोटो सामानिक सञ्जालमा भाइरल भएको छ। बालेन शाहले चढेको ल्यान्ड रोभर डिफेन्डर नयाँ एसयूभी ४३४३ नम्बरको गाडी हो। ल्यान्ड रोभर डिफेन्डर चढेर बालेन झापा क्षेत्र नम्बर ५ लगायतमा चुनावी प्रचार गरिरहेका छन्। उनी चुनाव प्रचारमा पूर्वी झापाबाट इलाम, पाँचथर भएर ताप्लेजुङसम्म पुगेका छन्।
बालेन शाहले चढेको कालो रंगको ल्यान्ड रोभर डिफेन्डर त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता भएको पाइएको छ। यातायात व्यवस्था कार्यालयमा दर्ता भएको ढड्डाअनुसार गाडी काइरोस इन्टरनेसनलले खरिद गरेर ल्याएको हो।
कर्जामा निकालिएको सो डिफेन्डर एसयूभी २०८२ असोज २८ मा यातायात व्यवस्था कार्यालय साना/ठूला सवारीमा दर्ता भएको थियो। २०२५ मा बनेको ल्यान्ड रोभर डिफेन्डर २९ सय ९६ सीसी इन्जिन क्षमताको डिजेल हाइब्रिड कार हो।
उक्त काइरोस इन्टरनेसनलले उत्पादक कम्पनीबाट नभइ तेस्रो बजारबाट अवैध रुपमा खरिद गरेर ल्याएको थियो। यसबारेमा बिजनेस न्युजले निरन्तर समाचारसमेत लेख्दै आएको छ।
करेन्ट ब्रान्डनेममा कमलकिशोर मालपानीको लगानी सूर्तिदेखि मसला र चाउचाउ उत्पादनसम्म छ। त्रिमूर्ति इन्डस्ट्रिज प्रालिका मालपानीलाई हामीले यसबारेमा प्रश्न गरेका थियौँ।
तपाइँले चुनावी प्रचारमा आफ्नो कम्पनीको गाडी बालेनलाई दिनुभएको हो? भन्ने हाम्रो प्रश्नमा उनले केहीबेर अनकनाउँदै भने, 'अँ... हो हाम्रो नै गाडी हो त्यो। यसो चढ्न दिएको हो। सहयोग गरेको। चुनावमा यसो सहयोग गरौँ भनेर दिएको हो। हामी कुनै पार्टीगत मान्छे होइन।'
भाडामा दिनुभएको हो कि सित्तैमा त? भन्ने प्रश्नमा उनी भन्छन्, 'कम्पनीको गाडी त्यसरी भाडामा त किन दिनु, यत्तिकै हो।'
बालेनले एक व्यवसायीको गाडी चढेर चुनावी प्रचारमा हिँड्दा वैकल्पिक राजनीतिमाथि नै गलत सन्देश जाने देखिन्छ। कुनै व्यवसायीमार्फत चुनावमा यसरी सहयोग लिँदा त्यसको प्रभाव कालान्तरसम्म राज्यसत्तामा पर्ने गर्छ। पुराना नेताकै शैलीमा बालेन लाग्दा उनीमाथि प्रश्न उठिरहेका छन्।
एक त अवैध बाटोबाट आयात गरिएको गाडी त्यसमा पनि कुनै निश्चित व्यवसायीबाट लिएर चुनावी प्रचारमा हिँड्दा पारदर्शिताको प्रश्न उठ्छन्।
कसरी ल्याइरहेको छ काइरोसले ल्यान्ड रोभर?
काइरोस इन्टरनेसनल नामक कम्पनीले जेएलआरले उत्पादन गरेको ल्यान्ड रोभर 'रेन्ज रोभर स्पोर्ट्स तथा डिफेन्डर' लयात मोडलका कार आयातका लागि अनुमति पाएको छ। उत्पादक कम्पनीले नचिन्ने यो कम्पनीले कहाँबाट र कोसँग ल्यान्ड रोभर कार किनेर नेपालमा आधिकारिक बिक्रेता बनेर ल्यायो भन्ने गम्भीर प्रश्नको उत्तर सरकारले दिएको छैन।
काइरोस इन्टरनेसनलले हङकङमा दर्ता भएको साउथ चाइना एक्जिम लिमिटेडसँग आधिकारिक बिक्रेता सम्झौता गरेर उसैसँग ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स तथा डिफेन्डर कार ल्याएको हो। साउथ चाइना एक्जिम लिमिटेड सुरुमा राकेश अडुकियाकै नाममा हङकङमा दर्ता भएको कम्पनी हो। साउथ चाइना एक्जिम लिमिटेड न त ज्यागुअर ल्यान्ड रोभरको हङकङका लागि आधिकारिक बिक्रेता हो न त त्यो कम्पनीले हङकङबाट तेस्रो मुलुकमा ल्यान्ड रोभरका कार बिक्री गर्ने अनुमति उत्पादक कम्पनीबाट पाएको छ।
राकेश अडुकिया संशयपूर्ण व्यापारमा उद्धत व्यक्ति हुन्। नेपालमा उनको आफ्नै नाममा कुनै पनि कम्पनी दर्ता छैन। यस्तै काम गर्न उनले सुरुमा श्रीमा डिस्ट्रिब्युसन प्रालि नामक कम्पनी बनाएर टेस्लाको विद्युतीय कार नेपाल भित्र्याएका थिए। उक्त कम्पनीले गैह्रकानूनी काम गरेको ठहरिएसँगै लफडा भएपछि उनले अरेत इन्टरनेसनल प्रालि नामक कम्पनी बनाएर आफै आधिकाकिर बिक्रेता भएको जिकिर गरेर टेस्लाका कार आयात गरिरहेका छन्। यसमा अदालतसम्म सेटिङको पहेली छ।
काइरोस इन्टरनेसनलले पनि हङकङमा दर्ता भएको कम्पनीसँग ल्यान्ड रोभरका कार किनेर आफू आधिकारिक बिक्रेता नियुक्त भएको किर्ते कागजात वाणिज्य विभागमा पेस गरी त्यहाँबाट एजेन्सी दर्ता गरेर कार ल्याइरहेको हो।
किर्ते आधिकारिक बिक्रेताको कागजात, त्यसैको आधारमा वाणिज्य विभागले दिएको एजेन्सी दर्ता प्रमाणपत्रका अधारमा यातायात व्यवस्था विभागको आयात अनुमति लिने र यी कागजात देखाएर वाणिज्य बैंकबाट एलसी (लेटर अफ क्रेडिट) खोलेर गाडी आयातमा काइरोस इन्टरनेसनलले गाडी ल्याइरहेको छ।
मुख्यगरी आधिकारिक बिक्रेताले सवारी आयात गर्दा सुरुमै यातायात व्यवस्था विभागबाट अनुमति लिँदैनन्। उनीहरूसँग वाणिज्य बैंकले सुरुमै यातायातबाट आयात अनुमति माग्दैनन्। त्यसैले उनीहरूले गाडी भन्सारमा आइपुगेपछि यातायातबाट आयात अनुमति लिएर भन्सारमा लगेर पेस गर्छन्। तर किर्ते आधिकारिक बिक्रेताहरूले एलसी खोल्न जाँदा वाणिज्य बैंकहरूले पहिले नै यातायात व्यवस्था विभागबाट आयात अनुमति ल्याउनु पर्ने सर्त राख्दै आएका छन्। यसो गर्दा आफ्नो लगानी नफस्ने वाणिज्य बैंकहरूको बुझाइ रहेको छ।
काइरोस इन्टरनेसनलले सोही बाटोबाट ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स एसयूभी २९ सय ९६ सीसी इन्जिनयुक्त विलासी कार ल्याउन लागेको छ। डिजेल हाइब्रिड प्रविधियुक्त यो कार निकै विलासी र आकर्षक छ। यो कार कति मूल्यमा आइपुग्छ भन्नेबारे भने खुलेको छैन। काइरोसले ज्यागुअर ल्यान्ड रोभरमात्र होइन अउडी तथा पोर्साका कारसमेत अवैध बाटोबाट नै आयात गर्दै आइरहेको छ।
