बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फागुन २१ को निर्वाचनका लागि कांग्रेसको प्रधानमन्त्री उम्मेदवार गगन थापा

शुक्रबार, माघ ९ २०८२
फागुन २१ को निर्वाचनका लागि कांग्रेसको प्रधानमन्त्री उम्मेदवार गगन थापा

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्रीको उम्मेदवार तोक्ने निर्णय आउनेछ। ‘हामी देशभर नयाँ र नविन कांग्रेसको सन्देशसहित सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दैछौं,’ प्रवक्ता चालिसेले भने।

काठमाडौं- नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने भएको छ। आज सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले औपचारिक रूपमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको पार्टीले जनाएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्रीको उम्मेदवार तोक्ने निर्णय आउनेछ। ‘हामी देशभर नयाँ र नविन कांग्रेसको सन्देशसहित सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दैछौं,’ प्रवक्ता चालिसेले भने।

उनका अनुसार विशेष महाधिवेशनको म्यान्डेट, सुशासन र विकासको मागसहित उठेको जेन-जी आन्दोलनको सन्देशलाई समेत सम्बोधन गर्ने गरी कांग्रेस स्पष्ट नेतृत्वसहित निर्वाचनमा जाने तयारीमा छ। ‘भोट हालिसकेपछि प्रधानमन्त्री को हुन्छ भन्ने विषयमा मतदातालाई पहिल्यै स्पष्ट जानकारी दिने हाम्रो रणनीति हो,’ उनले भने।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेस विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो। सोही महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरू आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्ने कार्यक्रम रहेको प्रवक्ता चालिसेले जानकारी दिए।

यद्यपि सभापति निर्वाचित भएपछिका पहिलो र दोस्रो केन्द्रीय कार्यसमिति बैठक तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि गठित संसदीय बोर्डको बैठक होटलमै बसेका थिए। थापा नेतृत्वको कार्यसमिति अहिलेसम्म औपचारिक रूपमा केन्द्रीय कार्यालय प्रवेश गरेको थिएन। ‘आजदेखि केन्द्रीय कार्यालयमै बैठक बस्छौं,’ प्रवक्ता चालिसेले भने।

उनका अनुसार काठमाडौं बाहिर रहेका नेताहरूको अनुपस्थितिका कारण आजको बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू मात्र सहभागी हुनेछन्।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै अन्य दलहरूले पनि प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेका छन्। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई अघि सारेको छ।

कांग्रेसभित्र भने विशेष महाधिवेशन आह्वानका क्रममा गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूको पहलप्रति तत्कालीन सभापति शेरबहादुर देउवा समूहले असहमति जनाएको थियो। विशेष महाधिवेशनलाई अस्वीकार गरेको भन्दै आलोचना गर्दै आएका देउवा समूहका नेताहरूले पछि सभापति थापाकै हस्ताक्षर भएको टिकट लिएर उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर सर्वोच्चले उनीहरूको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ।

विशेष महाधिवेशनपछि देउवा समूहका केही केन्द्रीय सदस्य तथा तरुण दलका नेताहरूले केन्द्रीय कार्यालयमा अरूलाई प्रवेश नदिने भन्दै कब्जा जमाएका थिए। हाल भने उनीहरूले केन्द्रीय कार्यालय छोडिसकेको छन्।


प्रकाशित : शुक्रबार, माघ ९ २०८२०८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend