शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

जग्गा नामसारीमा समेत घुस माग्छन् कर्मचारी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २९ २०७८
जग्गा नामसारीमा समेत घुस माग्छन् कर्मचारी

काठमाडौं- कानूनअनुसार प्रक्रिया पूरा गरेर तोकिएको राजस्व तिरेपछि घर जग्गाको नामसारी हुन्छ। जसका लागि सरकारले देशभर नै मालपोत कार्यालय स्थापना गरेको छ।

घर जग्गाको कारोबार, नामसारीको सेवा दिन बसेका कर्मचारीले नियमअनुसार काम गर्नुपर्छ तर आफूले प्राप्त गरेको अधिकारको दुरुपयोग गरी सामान्य प्रक्रियामा हुने काममा उल्झन खडा गर्‍यो वा त्यसैमा घुस माग्यो भने त्यो सरासर भ्रष्टाचारजन्य अपराध ठहरिन्छ।

घर जग्गाको कारोबार वा नामसारी गराउने जिम्मेवारी लिएर मालपोत कार्यालयमा बसेका एकाध कर्मचारीले बदमासी गर्दा त्यसको असर अन्य कार्यालयमा समेत परेको छ। अख्तियार दुरुपयोग अनुसनधान आयोगले आइतबार जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस माग्ने एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि मालपोत कार्यालयभित्र हुने बदमासी सार्वजनिक भएको हो।

आयोगका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँमा कार्यरत खरिदार लक्ष्मण बस्नेतले सामान्य प्रक्रियाबाट हुने कामका लागि सेवाग्राहीसँग १ लाख ३५ हजार रूपैयाँ घुस माग्दै गरेको अवस्थामा पक्राउ परेका थिए। आयोगले घुस लिँदै गरेको अवस्थामा यही फागुन १२ गते कार्यालयबाटै फक्राउ गरेको थियो।

जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिएको भन्दै खरिदार बस्नेतले आफ्नो ओहोदा र पदीय दायित्वकोसमेत ख्याल नगरी घुस मागेको आयोगको आरोप छ। आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी खरिदार बस्नेतविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो। रासस


प्रकाशित : आइतबार, फागुन २९ २०७८११:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend