बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतीय कम्पनी एसजेभीएनले अरुण-३ पछि अरुण-४ पनि अगाडि बढायो, ४९ अर्ब रुपैयाँ स्रोतसमेत व्यवस्थापन

बिहीबार , माघ ८ २०८२
भारतीय कम्पनी एसजेभीएनले अरुण-३ पछि अरुण-४ पनि अगाडि बढायो, ४९ अर्ब रुपैयाँ स्रोतसमेत व्यवस्थापन

सन् २०१८ मेदेखि औपचारिक निर्माण सुरु भएको अरुण-३ जलविद्युत् आयोजना हाल ९० प्रतिशत भौतिक प्रगति हासिल गर्दै अन्तिम चरणमा पुगेको छ।

काठमाडौं- निर्माणको अन्तिम चरणमा पुगेको ९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय सरकारी कम्पनी एसजेभीएन लिमिटेडले नेपालमा अर्को ठूलो जलविद्युत् आयोजना पनि औपचारिक रूपमा अगाडि बढाएको छ।

कम्पनीले ४९० मेगावाट क्षमताको अरुण-४ जलविद्युत् आयोजना विकासका लागि आवश्यक सम्झौता, लगानी सुनिश्चितता तथा स्रोत व्यवस्थापन पूरा गरेको हो।

लगानी बोर्ड नेपालका अनुसार अरुण-४ जलविद्युत् आयोजना विकास गर्न नेपाल सरकार र एसजेभीएन लिमिटेडबीच आयोजना विकास सम्झौता (पीडीए) सम्पन्न भइसकेको छ। पीडीए सम्पन्न भएसँगै कम्पनीले आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत व्यवस्थापन समेत सुनिश्चित गरिसकेको बोर्डले जनाएको छ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीका अनुसार अरुण-३ जलविद्युत् आयोजनामा देखिएको प्रगति, समयमै निर्माण र प्राविधिक व्यवस्थापनका कारण अरुण-४ का लागि पनि एसजेभीएनको लगानी सुनिश्चित भएको हो। 'अरुण-३ मा कम्पनीले देखाएको कार्यसम्पादनकै आधारमा अर्को आयोजना विकासका लागि स्रोत व्यवस्थापनसहित लगानी प्रतिबद्धता आएको छ,' उनले भने।

एसजेभीएन लिमिटेड भारत सरकार र हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानीमा स्थापित भारतीय सरकारी कम्पनी हो। कम्पनीले सन् २००८ मा पहिलो पटक अरुण-३ आयोजना विकासका लागि नेपाल सरकारसँग प्रारम्भिक समझदारी गरेको थियो। पछि सन् २०१४ मा अन्तिम आयोजना विकास सम्झौता (पीडीए) भएको थियो।

सन् २०१८ मेदेखि औपचारिक निर्माण सुरु भएको अरुण-३ जलविद्युत् आयोजना हाल ९० प्रतिशत भौतिक प्रगति हासिल गर्दै अन्तिम चरणमा पुगेको छ। उक्त आयोजनाको सफल कार्यान्वयनपछि नेपाल सरकारले अर्को जलविद्युत् आयोजना विकासका लागि प्रस्ताव अघि बढाएको थियो। त्यसअनुसार सन् २०२२ मे १६ मा नेपाल सरकार र एसजेभीएन लिमिटेडबीच अरुण-४ विकासका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो।

लगानी बोर्डका अनुसार अरुण-४ जलविद्युत् आयोजना पनि अरुण-३ कै मोडेलमा विकास गरिनेछ। आयोजना सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणको ४९ प्रतिशत र एसजेभीएन लिमिटेडको ५१ प्रतिशत सेयर रहने गरी संयुक्त कम्पनी स्थापना गरिने व्यवस्था गरिएको छ।

आयोजना सञ्चालनमा आएपछि कुल विद्युत् उत्पादनको २१.९ प्रतिशत बिजुली नेपालले मासिक रूपमा निःशुल्क प्राप्त गर्नेछ। उत्पादित विद्युत् खरिद गर्ने पहिलो अधिकार नेपाल विद्युत् प्राधिकरणको हुनेछ। आन्तरिक माग पूरा भएपछि बाँकी विद्युत् भारत र बंगलादेश निर्यात गर्ने लक्ष्य लिइएको छ।

प्रारम्भिक सम्झौताअनुसार अरुण-४ जलविद्युत् आयोजना विकास गर्न करिब ४९ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।


प्रकाशित : बिहीबार , माघ ८ २०८२१०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend