काठमाडौं- शान्तिपूर्ण राजनीतिमा आएपछि निर्वाचन क्षेत्र फेरिरहेका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड यो पालिको निर्वाचनमा रुकुमपूर्वबाट उम्मेद्वारी दिएका छन्। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षको नेतृत्व गरेर आएका प्रचण्डले अहिले पार्टीको नाम र चुनाव चिन्ह नै परिवर्तन गरिसकेका छन्। तर अहिले तत्कालीन माओवादीको सबैभन्दा बलियो पकड भएको रुकुमपूर्व पुगेका हुन्।
रुकुमपूर्वमा उम्मेद्वारी दिएपछि छलफल तथा भेटघाटको क्रममा उनले नेपालमा अहिले वैदेशिक हस्तक्षेप बढेको बताएका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्ने क्रममा उनले विदेशीले सरकारमात्र होइन देश नै चलाउन खोजेको बताएका थिए। वैदेशिक हस्तक्षेप बढेको तर यो चुनावले त्यस्ता शक्तिलाई हटाउने बताएका थिए। भदौं २३ र २४ गतेको युवा विद्रोहको मूल मर्मको स्वामित्व लिन हरसम्भव प्रयास गरेका प्रचण्ड रुकुम पुगेपछि भने बोली फेरेका छन्।
उनले सुशासन र कांग्रेस एमालेको अत्याचारी सरकारविरुद्ध भएको जनताको विद्रोह भन्ने यसअघिको भाषा पूरै बदलेका छन्। चुनाव नजिकै गर्दा मुलुकमा विदेशी हस्तक्षेप बढेको र त्यसलाई जोगाउनका लागि जनताले आफ्नो पार्टीलाई भोट दिनुपर्ने भनेर फकाउन सुरू गरेका छन्।
साना कम्युनिष्ट पार्टी र ती पार्टीको नेतृत्वले सदाबहार रुपमा मुलुक संकटमा परेको बताउँदै आएको छन्। तर दुई ठूला कम्युनिष्ट पार्टीमा सत्ताबाट बाहिर जानेवित्तिकै सँधैजसो एमाले अध्यक्ष केपी शर्मा ओली विदेशीको षड्यन्त्र बताउने गर्छन्। यसपालि भदौंको युवा विद्रोहका कारण हेलिकप्टर चढेर भाग्नुपरेपछि त झन् मुलुकको अहिलेको सरकार नै विदेशीको भएको बताउने गरेका छन्। आफ्नै नेतृत्वको सरकारले युवाहरूको हत्या गरेको विषयलाई ढाकछोप गर्न २४ गतेको तोडफोड र आगजानीको विषयलाई उचालीरहेका ओलीले देशको अस्तित्व नै संकटमा परेको बताउँदै आएका छन्।
एमाले अध्यक्ष ओलीसँगै उनका महासचिव शंकर पोखरेल पनि यस्तै बताउने गरेका छन्।
२०७२ सालमा संविधान जारी भएपछिको एक दशकसम्म पनि मुलुकको अर्थतन्त्रको धीमा चाल, बढ्दो कुशासन र कमसल सार्वजनिक सेवाको जनतामा शासन र राजनीतिप्रति वितृष्ण बढेर त्यत्रो विद्रोहपछिको निर्वाचनमा दुई मुख्य कम्युनिष्ट पार्टीले मुख्य एजेन्डा भने राष्ट्रवाद, विदेशी हस्तक्षेपलाई नै बनाएका छन्।
आर्थिक विकास, सहज सेवा सुविधा र रोजगारीका अवसर सिर्जना गर्ने मुख्य एजेन्डा हुनुपर्ने भनेर जनताले आश गरिरहेको समयमा दुई मुख्य कम्युनिष्ट पार्टीका नेताहरू भने अझै पनि मुलुक संकटमा रहेको आफूहरू सत्तामा आएपछिमात्र मुलुक जोगिने पूरानै नारा लगाउनमा मस्त रहेका छन्।
पछिल्लो दुई दशकमा सत्तामा पालैपालो रजगज गरेका यी दल र नेताले विकास र सुशासन ठिकै भएको तर विदेशीको षड्यन्त्रले संकटमा परेको भाष्य बनाउन खोजिरहेका छन्।
तर नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र हालैमात्र विशेष महाधिवेसन गरेर नयाँ नेतृत्वसहित आएको नेपाली कांग्रेसले भने फरक एजेन्डा उठाउने संकेत गरेका छन्। यी दुई दलका मुख्य नेताले मुलुकमा विकास, सुशासन र आर्थिक विकासका लागि प्रतिबद्ध रहने उल्लेख गरेका छन्।
