काठमाडौं- सोमबार ४ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार २ हजार ७ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो।
यस्तै सोमबार प्रतितोला १ सय ८५ रुपैयाँले बढेर अहिलेसम्मकै उच्च ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेको छ।
आज मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो।
बढ्दै गएको भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षा र वित्तीय बजारमा छिटोछिटो भइरहेको परिवर्तनका कारण सुनको मूल्य निरन्तर बढिरहेको छ।
पछिल्लो समय संसारका धेरै मुलुककले अमेरिकी डलरप्रतिको विश्वसनीयतामा पनि प्रश्न उठाउन थालेका छन्। डलरप्रतिको अविश्वासले गर्दा धेरै केन्द्रीय बैंकले सुनको खरिद बढाउन थालेका छन्।
नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।
