बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पाँच पटक प्रधानमन्त्री, सात पटक सांसद बनेका शेरबहादुर देउवाको संसदीय यात्रामा ३४ वर्षपछि 'ब्रेक'

मंगलबार, माघ ६ २०८२
पाँच पटक प्रधानमन्त्री, सात पटक सांसद बनेका शेरबहादुर देउवाको संसदीय यात्रामा ३४ वर्षपछि 'ब्रेक'

विसं २०४८ देखि हालसम्म भएका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका देउवा यसपटक भने चुनावी मैदानमा नउत्रने निर्णयमा पुगेका छन्। यससँगै करिब ३४ वर्षदेखि अविरल रूपमा चलेको उनको संसदीय यात्रामा विराम लागेको छ।

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन्। देउवाको सचिवालयले सोमबार औपचारिक रूपमा यो जानकारी दिएको हो।

विसं २०४८ देखि हालसम्म भएका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका देउवा यसपटक भने चुनावी मैदानमा नउत्रने निर्णयमा पुगेका छन्। यससँगै करिब ३४ वर्षदेखि अविरल रूपमा चलेको उनको संसदीय यात्रामा विराम लागेको छ।

देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्तिमार्फत भनेका छन्, 'नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने निर्णयमा पुग्नुभएको छ।'

२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ साल वैशाख २९ गते भएको प्रतिनिधिसभा निर्वाचनमार्फत देउवाले गृहजिल्ला डडेलधुराबाट पहिलो पटक संसद् प्रवेश गरेका थिए। त्यसपछि उनी निरन्तर प्रतिनिधिसभा सदस्य तथा संविधानसभा सदस्य निर्वाचित हुँदै आएका थिए। २०५१ सालको मध्यावधि निर्वाचन, २०५६ सालको प्रतिनिधिसभा निर्वाचन तथा त्यसपछिका संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि उनी डडेलधुराबाटै विजयी भए।

देउवा पाँच पटक प्रधानमन्त्री बनेका नेता हुन्। २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका उनी २०५८ सालमा दोस्रो, २०७२ सालमा संविधान जारीपछिको चौथो र २०७८ सालमा पाँचौं पटक प्रधानमन्त्री बनेका थिए। २०५९ सालमा प्रतिनिधिसभा विघटन र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण कांग्रेस विभाजन भइ नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठनसमेत भएको थियो, जुन पछि पुनः एकतामा गयो।

२०६२/६३ को जनआन्दोलनपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा देउवाले डडेलधुरा र कञ्चनपुर-४ दुवैबाट जित हासिल गरेका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले डडेलधुरा र कैलाली-६ बाट विजय प्राप्त गरे।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचन र २०७९ सालको निर्वाचनमा समेत डडेलधुराबाट विजयी हुँदै आएका देउवा सात पटक लगातार निर्वाचन जित्ने नेताका रूपमा परिचित छन्। यद्यपि यसपटक उनले आफैं उम्मेदवारी नदिने निर्णय गरेका हुन्।

कांग्रेस डडेलधुराले देउवालाई आगामी निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। तर पार्टीभित्रको आन्तरिक विवाद, हालै सम्पन्न विशेष महाधिवेशनपछि बनेको नयाँ नेतृत्व तथा शक्ति सन्तुलनका कारण देउवाले निर्वाचन नलड्ने निर्णय गरेको स्रोतको दाबी छ। कांग्रेसभित्र विशेष महाधिवेशनको वैधानिकतामाथि देउवा पक्षले प्रश्न उठाउँदै न्यायालयको ढोका ढकढक्याएको अवस्था छ।

यसैबीच देउवाकी पत्नी आरजु देउवालाई पनि यसपटक कांग्रेसले उम्मेदवार बनाएको छैन। उनी कैलाली-५ बाट सिफारिस भए पनि पार्टीले सो क्षेत्रमा नरनारायण शाहलाई टिकट दिएको छ।

२००३ सालमा डडेलधुराको रुवाखोलामा जन्मिएका देउवा २०१७ सालदेखि राजनीतिमा सक्रिय छन्। उनी २०२८ सालमा नेपाल विद्यार्थी संघको सभापति बनेका थिए। २०७२ सालको १३औँ महाधिवेशनबाट उनी पहिलो पटक नेपाली कांग्रेसको सभापति चयन भएका थिए। भने १४ औं महाधिवेशनबाट दोस्रोपटक सभापति चयन भएका थिए।

लामो राजनीतिक यात्रा र पटक-पटक सत्ता नेतृत्वको अनुभव बोकेका देउवाको निर्वाचनबाट अलग रहने निर्णयले मुलुकको समसामयिक राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।


प्रकाशित : मंगलबार, माघ ६ २०८२०७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend