बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निर्वाचन आचारसंहिता पालना गर्ने सर्वपक्षीय प्रतिबद्धता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ ५ २०८२
निर्वाचन आचारसंहिता पालना गर्ने सर्वपक्षीय प्रतिबद्धता

'आचारसंहिता विपरीत मिथ्यापूर्ण सूचना सम्प्रेषण गर्ने, दुष्प्रचार गर्ने, र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई एक लाखसम्मको जरिवानासहित कानुनी कारबाही हुन्छ।'

गण्डकी- कास्कीका राजनीतिक दल, उम्मेदवार, पत्रकार लगायतले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी सर्वदलीय/सर्वपक्षीय बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको हो।

नेपाली कांग्रेस, कास्कीका सचिव देवेन्द्र रानाभाटले स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको बताए। आचारसंहिता पालनामा मुख्य गरी राजनीतिक दल र उम्मेदवारहरु बढी जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ।

नेकपा (एमाले) कास्कीका उपाध्यक्ष भेषराज बरालले उम्मेदवारले भयरहित वातवरणमा आफूले चाहेको राजनीतिक दल र उम्मेदवारलाई मतदान गर्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताए।

नेपाली कम्युनिष्ट पार्टी, कास्कीका संयोजक विश्वप्रकाश लामिछाने आचारसंहिता पालनामा विगतका निर्वाचनमा भएका कमजोरीबाट पाठ सिक्नुपर्ने बताए।

संसदीय पत्रकार मञ्च, गण्डकीका पूर्वअध्यक्ष भरत कोइरालाले विगतका उदाहरणबाट राजनीतिक दल र सञ्चारमाध्यमबाटै आचारसंहिता उल्लंघनका घटना बढी हुने गरेको पाइएको बताए। उनले पत्रकारलाई निर्वाचनसम्बन्धी समाचार संकलनमा सहज पहुँच दिनुपर्ने बताए।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन सफल पार्न सबै पक्षको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने बताइन्। निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको उनको भनाइ छ।

तीनै तहका सुरक्षा निकाय सम्मिलित सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा गइसकेको प्रजिअ शर्माले बताइन्। उनका अनुसार जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन हुनेछन्। दुई हजार ३०३ जना निर्वाचन प्रहरी खटिनेछन्।

मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा प्रभावकारी अनुगमन गरिने बताए।

'आचारसंहिता आफैँमा कानुनी दस्तावेज त होइन, तर यसको उल्लंघन हुँदा कानुन आकर्षित हुन्छ' उनले भने, 'आचारसंहिता उल्लंघनका घटनामा उम्मेदवारको मनोनयन नै रद्दसमेत हुन सक्ने अवस्था आउन सक्छ।' मुख्य निर्वाचन अधिकृत बेलबासेले सबैको लक्ष्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु रहेको बताए।

सहायक निर्वाचन अधिकृत राजन खनालले मङ्गलबार हुने उम्मेदवार मनोनयनको तयारी पूरा भएको बताए। उनले एकै पटकमा भीडभाड हुन नदिन राजनीतिक दलहरुलाई आलोपालो गरेर मनोनयन दर्ताका लागि समय व्यवस्थापन गरिएको बताए।

कास्की-१ को रामघाट, कास्की-२ को ड्यामसाइट र कास्की-३ को मालेपाटनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने सहायक निर्वाचन अधिकृत खनालले बताए।

कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचन आचारसंहिता-२०८२ का विषयमा प्रस्तुतीकरण राखेका थिए।

उनले आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवारलगायत जो कोहीलाई स्पष्टीकरण सोध्नेदेखि कारबाहीसम्मको कानुनी व्यवस्था रहेको बताए।

'आचारसंहिता विपरीत मिथ्यापूर्ण सूचना सम्प्रेषण गर्ने, दुष्प्रचार गर्ने, र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई एक लाखसम्मको जरिवानासहित कानुनी कारबाही हुन्छ', उनले भने, 'आचारसंहिता पालनाका सन्दर्भमा प्रभावकारी अनुगमन र निगरानी हुन्छ।' रासस


प्रकाशित : सोमबार, माघ ५ २०८२१८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend