बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रतिनिधि सभा निर्वाचन आउन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागु

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ ५ २०८२
प्रतिनिधि सभा निर्वाचन आउन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागु

नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ।

काठमाडौं- निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु गरेको छ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागु गरेको हो। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको छ। आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।

आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागु हुनेछ। आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ।

स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनलाई आचारसंहिता लाग्नेछ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति,राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लाग्ने जनाइएको छ।

पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी आचारसंहिताको दायरामा परेका छन्।

मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिताको दायरामा परेका छन्।

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई आचारसंहिता लाग्नेछ।

आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि आयोगले सबैको सहयोगको अपेक्षा गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, माघ ५ २०८२१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend