बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ४ २०८२
नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानमार्फत देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न पुर्‍याएको योगदान प्रशंसायोग्य रहेको बताए। यसले राष्ट्रिय विकास र आर्थिक समृद्धिमा पनि टेवा पुगेको उनको भनाइ थियो।

उपराष्ट्रपति यादवले नेपाल जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस्तो अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिए। पर्याप्त ऊर्जाविना मुलुकको विकास सम्भव नहुने भन्दै उनले सस्तो र पर्याप्त ऊर्जा उपलब्ध भएमा उद्योग, कृषि, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा तीव्र विकास भई रोजगारी सिर्जना र आर्थिक समृद्धि सुनिश्चित हुने उल्लेख गरे।

उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाई वातावरणीय सन्तुलन कायम गर्न र जलवायु परिवर्तनका चुनौती सामना गर्न मद्दत पुग्ने बताए। नेपालले नवीकरणीय ऊर्जामा लगानी बढाएर भारत, बंगलादेशलगायत छिमेकी मुलुकमा विद्युत् निर्यात गर्दै क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भूमिका खेल्न सक्ने सम्भावना रहेको उनको भनाइ थियो।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई ‘लोडसेडिङ’मुक्त बनाउँदै विद्युत् निर्यात गर्ने अवस्थामा पुर्‍याएको बताए। उनले हाल नेपालको कुल विद्युत् उत्पादन करिब चार हजार मेगावाट पुगेको र यसमध्ये तीन हजार ३ सय मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदानबाट सम्भव भएको उल्लेख गरे। 

मन्त्री सिन्हाले ५ मेगावाटदेखि १० मेगावाटका साना आयोजनाबाट सुरु भएको निजी क्षेत्रको यात्रा हाल एक सय मेगावाटभन्दा ठूला आयोजनासम्म लगानी गर्ने अवस्थामा पुगेको भन्दै खुसी व्यक्त गरे। 

कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले हाल देशभर ९ सय भन्दा बढी जलविद्युत् आयोजनाले अनुमति लिएर काम अघि बढाइसकिएको जानकारी दिए।  कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो। रासस


प्रकाशित : आइतबार, माघ ४ २०८२१८:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend