काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी १३ खर्ब १० अर्ब रुपैयाँ पुगेको बताएका छन्। इप्पानको २६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्।
अध्यक्ष कार्कीका अनुसार पछिल्ला वर्षहरूमा ऊर्जा क्षेत्रमा निजी क्षेत्रको आकर्षण उल्लेख्य रूपमा बढेको छ। तर लगानी बढे पनि उत्पादित विद्युत् समयमै खरिद नहुँदा निजी क्षेत्रले गम्भीर समस्या भोग्नुपरेको उनले बताए। नेपाल विद्युत् प्राधिकरणले आवश्यक समयमा विद्युत् नकिन्ने र पर्याप्त प्रसारण लाइन निर्माण नगर्दा निजी उत्पादकहरूलाई विद्युत् बिक्री गर्न कठिनाइ भइरहेको उनको भनाइ छ।
उनले प्रसारण संरचना कमजोर भएकै कारण उत्पादन भइसकेको विद्युत् पनि बजारमा लैजान नसकिएको उल्लेख गरे।
´विद्युत् उत्पादन बढिरहेको छ, तर त्यसअनुसार प्रसारण लाइन नबन्दा निजी क्षेत्रको लगानी जोखिममा परेको छ,` अध्यक्ष कार्कीले भने।
मौसमी खराबीको असरका कारण ८० भन्दा बढी जलविद्युत् आयोजना ले तोकिएको समयमा विद्युत् उत्पादन सुरु गर्न नसकेको जानकारी पनि उनले दिए। प्राकृतिक कारणले निर्माण तथा परीक्षण कार्यमा ढिलाइ हुँदा आयोजना प्रभावित भएको उनको भनाइ छ।
अध्यक्ष कार्कीले आयोजनाको व्यावसायिक सञ्चालन मिति थप्न माग गरेको तीन वर्ष बितिसक्दा पनि सरकारले सुनुवाइ नगरेको गुनासो गरे।
समयमै नीतिगत निर्णय नहुँदा बैंक कर्जा, ब्याज र अन्य दायित्वका कारण निजी लगानीकर्तामाथि थप दबाब परेको उनले बताए।
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको ठूलो योगदान हुँदाहुँदै पनि सरकारी तहबाट अपेक्षित सहजीकरण नहुँदा समस्या गहिरिँदै गएको अध्यक्ष कार्कीको भनाइ छ।
