बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल विद्युत प्राधिकरणको अगुवाइमा ४५४ मेगावाटको किमाथांका आयोजना अगाडि बढ्दै

सोमबार, माघ ५ २०८२
नेपाल विद्युत प्राधिकरणको अगुवाइमा ४५४ मेगावाटको किमाथांका आयोजना अगाडि बढ्दै
एआई निर्मित सांकेतिक तस्बिर।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको अगुवाइमा ४५४ मेगावाट क्षमताको किमाथांका अरुण अर्धजलाशय जलविद्युत् आयोजना अघि बढ्ने भएको छ।

आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार पारेर ऊर्जा मन्त्रालयमार्फत अर्थ मन्त्रालय पठाइसकिएको छ।

संखुवासभाको भोटखोला गाउँपालिका-२ मा पहिचान गरिएको उक्त आयोजना स्वदेशी पुँजीमा निर्माण गर्ने लक्ष्यसहित अगाडि बढाइएको हो। निर्माण अवधिको ब्याजसमेत समेट्दा आयोजनाको अनुमानित कुल लगानी ९७ अर्ब ९४ करोड रुपैयाँ रहनेछ। सरकार तथा सरकारी निकाय संस्थापक रहेको विद्युत् उत्पादन कम्पनीमार्फत आयोजना निर्माण गर्ने प्रस्ताव गरिएको छ।

तयार गरिएको वित्तीय मोडालिटीअनुसार कुल लागतको ७० प्रतिशत अर्थात् करिब ६८ अर्ब ५५ करोड रुपैयाँ ऋणबाट र बाँकी ३० प्रतिशत अर्थात् २९ अर्ब ३८ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) बाट जुटाइनेछ। ऋण व्यवस्थापनका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू तथा बैंक तथा वित्तीय संस्थाहरूको सहवित्तीयकरण प्रस्ताव गरिएको छ।

इक्विटी तर्फको रकम कम्पनीका संस्थापक, गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अतिविपन्न परिवारका सदस्य र सर्वसाधारणलाई सेयर निष्कासनमार्फत संकलन गर्ने योजना छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित मोडालिटीको जानकारी लिँदै आयोजनाको अनुमानित लागत अद्यावधिक गरी सोहीअनुसार तत्काल वित्तीय व्यवस्थापन प्रक्रिया अगाडि बढाइएको बताएका छन्।

विद्युत् उत्पादन कम्पनीसँग आयोजनाहरूका अनुमतिपत्र (लाइसेन्स) भए पनि निर्माणमा जान नसकेको उल्लेख गर्दै उनले कम्पनीको दीर्घकालीन आम्दानी र दिगोपनाका लागि किमाथांका आयोजना आफैँले निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे।

आयोजनाको प्रस्तावित लगानी ढाँचा तथा त्यसअनुसारको संस्थागत इक्विटी योजना कम्पनीको सञ्चालक समितिबाट पारित भई अर्थमन्त्रालयमा पुगिसकेको छ। किमाथांका अरुण आयोजनाको अध्ययन तथा पूर्वनिर्माणमा हालसम्म ७३ करोड १४ लाख रुपैयाँ खर्च भइसकेको छ।

आयोजनाको कार्यालय तथा कर्मचारी आवास (क्याम्प) निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण सम्पन्न भइसकेको छ भने बाँध, जलाशय र विद्युत् गृहलगायत संरचना निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ। यस प्रयोजनका लागि करिब ४५ करोड रुपैयाँ लाग्ने अनुमान छ।

आयोजनाबाट वार्षिक २ अर्ब ६९ करोड ९७ लाख युनिट (२६९.९७ गिगावाट आवर) विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये हिउँदयामको पिक र अफ-पिक ऊर्जा क्रमशः ४७ करोड ३१ लाख र ३५ करोड ३३ लाख युनिट तथा वर्षायामको उत्पादन १ अर्ब ८६ करोड ४६ लाख युनिट रहनेछ। उत्पादित विद्युत् बिक्रीबाट वार्षिक करिब १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।

विद्युत् उत्पादन कम्पनीमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल टेलिकमको १०/१० प्रतिशत, नागरिक लगानी कोषको ५ प्रतिशत, एचआइडिसिएलको ४ प्रतिशत तथा राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक सेयर स्वामित्व रहनेछ। सर्वसाधारणका लागि २९ प्रतिशत सेयर छुट्याइने छ।


प्रकाशित : सोमबार, माघ ५ २०८२०८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend