काठमाडौं- सन् २०२५ सम्ममा लगानी बोर्ड नेपालबाट १७ खर्ब १६ अर्ब रुपैयाँबराबरका ५५ वटा ठूला आयोजना स्वीकृत भएका छन्।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीका अनुसार स्वीकृत अधिकांश आयोजना अहिले निर्माणकै चरणमा छन् भने केही ठूला आयोजनामा लगानी व्यवस्थापनका लागि बोर्डले लगानीकर्ता खोज्ने कामसमेत अघि बढाइरहेको छ।
लगानी बोर्डले स्वीकृत गरेका आयोजनामध्ये ऊर्जा क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। बोर्डका अनुसार ऊर्जामा मात्र ४० वटा आयोजना स्वीकृत भएका छन्। जसको कुल लागत १३ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।
नेपालमा सबैभन्दा बढी सम्भावना देखिएको र लगानीकर्ताले उत्साहका साथ अगाडि बढाएको क्षेत्र ऊर्जा नै भएको बोर्डको निष्कर्ष छ। यी परियोजनामध्ये केही आयोजनाहरू एक दशकअघि नै सुरु भएका छन् भने केही नयाँ परियोजना पनि निर्माण तथा प्रारम्भिक चरणमा छन्।
उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्र पनि आयोजनाको संख्याका आधारमा लगानीकर्ताको आकर्षणमा परेको छ। यस क्षेत्रमा ९ वटा आयोजना स्वीकृत भएका छन्। ती आयोजनामा २ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति दिइएको छ।
उत्पादनमूलक क्षेत्रअन्तर्गत १५ अर्ब रुपैयाँ लगानीको सम्राट सिमेन्ट, ३७ अर्ब रुपैयाँको होङ्सी सिमेन्ट र २१ अर्ब रुपैयाँको हुवासिन सिमेन्टले उत्पादन सुरु गरिसकेका छन्। अन्य आयोजनाहरू भने बोर्डबाट स्वीकृति लिएर निर्माणकै चरणमा रहेका छन्।
त्यसैगरी युटिलिटी क्षेत्रमा बोर्डले तीन वटा आयोजना स्वीकृत गरेको छ। यी आयोजनामा करिब ५ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव लगानीकर्ताले गरेका छन्।
पर्यटन क्षेत्रतर्फ पनि लगानी बोर्डबाट दुईवटा आयोजना स्वीकृत भएर अगाडि बढिरहेका छन्। यी दुई आयोजनाको कुल लागत ७१ अर्ब रुपैयाँ रहेको छ। तीमध्ये एउटा परियोजनाअन्तर्गत करिब १४ अर्ब रुपैयाँ लगानीका तीन वटा होटल एउटै परियोजनाको रूपमा विकास भइरहेको छ।
त्यसमध्ये होटल परियोजना २०७५ जेठमा लगानी स्वीकृत भइ निर्माण चरणमा प्रवेश गरेका हुन्, जसका आयोजना दहचोक, भक्तपुर र पोखरामा रहेका छन्। पर्यटन क्षेत्रकै अर्को परियोजना भने ८१ किलोमिटर लामो नयाँपुल-मुक्तिनाथ केबलकार आयोजना हो।
पूर्वाधार क्षेत्रमा बोर्डबाट स्वीकृत भएर एउटैमात्र आयोजना अघि बढिरहेको छ। झापाको दमकमा निर्माण हुने चीन-नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्कमा करिब ६५ अर्ब रुपैयाँ लगानी हुने अनुमान छ। यो परियोजना लगानी बोर्डबाट २०७६ सालमै स्वीकृति पाएर कार्यान्वयनतर्फ अघि बढेको हो।
समग्रमा हेर्दा लगानी बोर्डबाट स्वीकृत आयोजनामा ऊर्जा क्षेत्रको प्रभुत्व देखिन्छ भने उत्पादन, पर्यटन र पूर्वाधार क्षेत्र क्रमशः लगानी विस्तार हुँदै गएको छ। यस्ता ठूला परियोजनाको कार्यान्वयनले दीर्घकालमा आर्थिक वृद्धि, रोजगारी सिर्जना र औद्योगिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।
लगानी बोर्डबाट स्वीकृत आयोजनाको क्षेत्रगत विवरण
ऊर्जा क्षेत्र
आयोजनाको संख्या: ४०
कुल लगानी: १३ खर्ब ३७ अर्ब रुपैयाँ
उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्र
आयोजनाको संख्या: ९
कुल लगानी: २ खर्ब ३६ अर्ब रुपैयाँ
पूर्वाधार (इन्फ्रास्ट्रक्चर) क्षेत्र
आयोजनाको संख्या: १
कुल लगानी: करिब ६५ अर्ब रुपैयाँ
आयोजना: दमकस्थित चीन–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क
पर्यटन क्षेत्र
आयोजनाको संख्या: २
कुल लगानी: ७१ अर्ब रुपैयाँ
प्रमुख आयोजना:
दहचोक, भक्तपुर र पोखराका तीन होटल परियोजना (करिब १४ अर्ब)
८१ किलोमिटर नयाँपुल-मुक्तिनाथ केवलकार
युटिलिटी क्षेत्र
आयोजनाको संख्या: ३
कुल लगानी: करिब ५ अर्ब रुपैयाँ
