कैलाली- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लम्कीमार्फत कैलालीस्थित लम्की मानवसेवा आश्रममा आश्रित असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्धवृद्धा र टुहुरा बालबालिकाहरूलाई न्यानो सामग्री वितरण गरेको छ।
बैंकको लम्की शाखा प्रमुख भिम राज जैसीले आश्रमका सञ्चालक विनोद थापालाई चिसो मौसमका लागि आवश्यक ब्लाङ्केट, म्याट्रेस र सिरक लगायतका सामग्रीहरू हस्तान्तरण गरेका हुन्।
सामग्री हस्तान्तरण गर्दै शाखा प्रमुख जैसीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो कार्यक्रमले आश्रमलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। जाडोयाममा प्राप्त यस सहयोगले आश्रमका बेसहारा नागरिकहरूको जीवनमा न्यानोपन र सुरक्षा थपिने भन्दै सञ्चालक थापाले खुसी व्यक्त गरे। उनले मानवीय पहलका लागि बैंकप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे।
बैंकका कर्मचारी, आश्रमका प्रतिनिधि र स्थानीयको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
