मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

यी हुन् एक वर्षमा ५० वटाभन्दा कम आयात भएका कार ब्रान्ड

कम आयातको परिणाम : विदेशी मुद्रा बाहिरिने, सर्भिस नपाइने र 'डम्पिङ साइट'

आइतबार, माघ ४ २०८२
यी हुन् एक वर्षमा ५० वटाभन्दा कम आयात भएका कार ब्रान्ड

बजार विस्तारको चिनियाँ रणनीति तथा सबैलाई आधिकारिक बिक्रेता बन्ने रहरले ‘जस्तासुकै’ विद्युतीय सवारी नेपाल आइरहेका छन्। जसको स्वीकार्यता वा अस्वीकार्यता ‘बजारले’ निर्धारण गर्ने छ।

काठमाडौं- नेपाली बजारमा विद्युतीय सवारीको आयात तथा बिक्री उल्लेख्य रुपमा बढिरहेको छ। चीनमा ब्रान्डेड ब्रान्डदेखि ननब्रान्डेड ब्रान्ड सबैखालका विद्युतीय सवारी उत्पादक रहेका छन्।

चीनमा तीन सयभन्दा बढी ब्रान्डका विद्युतीय सवारी उत्पादन भइरहेको छ। नेपाली बजारमा चीनमा उत्पादन भएका मात्रै ४० भन्दा बढी ब्रान्डका विद्युतीय सवारी उपलबध छन्। अटोमोबाइल व्यवसायमा लागेकादेखि नयाँ व्यावसायिक घराना हुँदै स्थानीय डिलरसम्म चीनबाट विद्युतीय कार तथा माइक्रोबस/भ्यानको आधिकारिक बिक्रेता बन्न लागिपरेका छन्। 

चीन विश्व बजारमा विद्युतीय सवारी पुर्‍याएर आफ्नो उपस्थिति बढाउने तीव्र अभियानमा छ। त्यहाँ उत्पादक कम्पनीले मात्र होइन एजेन्टहरूले पनि आधिकारिक बिक्रेता नियुक्त गरेर बिक्री बढाउन लागिपरेका छन्। चिनियाँहरूको यही गतिविधिको प्रत्यक्ष प्रभावमा नेपाली बजार रहेको छ। चीनबाट नेपालमा आयात हुने विद्युतीय सवारीका आधाभन्दा बढी ब्रान्ड ओईएमबाट नभइ एजेन्टमार्फत आउने गरेका छन्। 

एजेन्टमार्फत आधिकारिक बिक्रेता देखाएर सवारी आयात गर्ने नेपाली कम्पनीहरूको भविष्य दीर्घकालीन हुन कठिन छ। यस्ता कम्पनीहरूले सर्भिसको ग्यारेन्टी उत्पादक कम्पनीबाट पाएका हुँदैनन्। यसका साथै उनीहरूले स्पेयर पार्ट्ससमेत ‘आफ्टर मार्केट’बाट ल्याउनुपर्ने बाध्यता हुन्छ। जसका कारण त्यस्तो पार्ट्स महँगो पर्ने भएकाले नियमित रुपमा ल्याउँदैनन् र उपभोक्ताले पार्ट्स तथा सर्भिस पाउन कठिन हुन्छ। 

सबैलाई आधिकारिक बिक्रेता बन्ने रहरले जस्तोसुकै ब्रान्डका विद्युतीय कार तथा भ्यान/माइक्रोबस आयात भइरहेका छन्। उत्पादन गुणस्तर प्रमाणित नभएका, अप्रमाणित टेस्टिङ रिपोर्ट देखाएर र बीच बाटोमा लेफ्ट ह्यान्ड ड्राइभ सवारीलाई रेट्रोफिट प्लान्टबाट राइट ह्यान्ड ड्राइभ बनाएर विद्युतीय सवारी आयात हुने गरेको पाइएको छ। नेपालमा परीक्षण गर्ने कुनै संयन्त्र नहुँदा यातायात व्यवस्था विभागले कागजात हेरेर आयात अनुमति दिइरहेको छ। 

बजार विस्तारको चिनियाँ रणनीति तथा सबैलाई आधिकारिक बिक्रेता बन्ने रहरले ‘जस्तासुकै’ विद्युतीय सवारी नेपाल आइरहेका छन्। जसको स्वीकार्यता वा अस्वीकार्यता ‘बजारले’ निर्धारण गर्ने नै छ तर परीक्षण उपकरण र सवारी आयातको न्यूनतम मापदण्ड नहुँदा राज्यले एकातर्फ विदेशी मुद्रा गुमाइरहेका छ भने अर्कोतर्फ सवारीको फोहर थुप्रिरहेको छ। 

सन् २०२५ मा नेपाली बजारमा प्यासेन्जर कार तथा कमर्सियल विद्युतीय सवारी गरेर २० हजारभन्दा बढी सवारीसाधन आयात भएको तथ्यांक छ। जसमा एक वर्षमा ५० वटाभन्दा कम आयात हुने सवारी ब्रान्डबारे यहाँ उल्लेख गरिएको छ।

यसमध्ये केही स्थापित पुराना ब्रान्ड र घरानाहरूले सर्भिसमा राम्रो लगानी गरेकाले उपभोक्ताले समयमा सर्भिस पाउने छन्। तर सयौँ यस्ता ब्रान्ड छन् जसको अस्तित्व नेपालमा त छैन नै चीनमै पनि समाप्त हुने अवस्थामा छ। चीनबाट नेपालबाहेक अन्य देशमा नगएका सवारी ब्रान्डहरूको दीर्घजीवन अनिश्चित छ। 

नेपाली बजारमा २०२५ मा चीनबाट मात्रै ४० भन्दा बढी विद्युतीय सवारी ब्रान्ड आयात भएको छ। यहाँ उल्लेख गरिएका सवारी ब्रान्डमा पिकअप पनि समावेश छन्। एक वर्षको अवधिमा एकाध ब्रान्डबाहेकले तेहोरो अंकमा सवारी आयात गर्न सकेका छैनन्। 

यी हुन् ५० वटाभन्दा कम आयात भएका प्यासेन्जर कार ब्रान्ड : 

बाइमा- १, सेन्ट्रो- १, डेन्जा- १, जेएसी- १, मर्सिडिज- १, रेनो- १, सिनोगोल्ड- १

रनहर्स- २, किङलङ- २

होनरी- ३

अउडी- ४, होएन- ४, एलएस अटो- ४, विलिङ- ४

जुनियो- ५, माज्दा- ५

हाभाल- ७, पोर्सा- ७, सुबारु- ७

म्याक्सस- ८

ग्रिनरिङ- ९

जिप- १०, ल्यान्ड रोभर- १०

इनियु- १२

स्मार्ट- १५

टेस्ला- १९

बीएडब्लू- २०

फरर्थिङ- २५, होन्डा- २५, जिनपिङ- २५,

जीली- २७

जीडब्लूएम- २९

मित्सुबिसी- ३१

आईएम- ३४

फोर्ड- ३५

जीकर- ४०

बीएमडब्लू- ४५

भोल्टस्- ४७

यसमध्ये केही ब्रान्डका स्तरीय सर्भिस सेन्टरहरू छन्। बीएमडब्लूका कार लक्ष्मी प्रिमियम मोटर्सले आयात गर्दै आएको छ भने यसको सर्भिस सेन्टर तीनकुनेमा रहेको छ।

यस्तै फोर्डका गाडी विगतमा ठूलो संख्यामा बिक्री हुँदै आएको थियो। जीओ अटोमोबाइलले बिक्री गर्ने फोर्डको विश्वस्तरीय सर्भिस सेन्टर नेपालमा रहेको छ। भारतबाट फोर्ड बाहिरिएपछि नेपालमा बिक्री घटेको भएपनि जीओ फोर्डले सर्भिस तथा स्पेयर पार्ट्सको उपलब्धतामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ। 

यसका साथै ग्रेटवाल मोटर (जीडब्लूएम), मित्सुबिसी, जीकर, जिपलगायत ब्रान्ड ठूला व्यावसायिक घरानाले लामो समयदेखि आयात गरिरहेको र यिनमा सयौँ आईसी इन्जिन सवारी भएकाले यसको पार्ट्स तथा सर्भिस उपलब्ध हुँदै आएको छ। 


प्रकाशित : आइतबार, माघ ४ २०८२११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend