बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

खोटाङको चिसापानी बजारको सडक निर्माण कार्य तीव्र

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १ २०८२
खोटाङको चिसापानी बजारको सडक निर्माण कार्य तीव्र

खोटाङ- जन्तेढुंगा गाउँपालिका-५ चिसापानीस्थित चिसापानी बजारको सडक ढलानको काम तीव्र गतिमा अगाडि बढाइएको छ। जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको पुरानो तथा प्रमुख बजारमध्येमा पर्ने चिसापानी बजारको सडक ढलानको कामले गति लिएको हो।

गाउँपालिकाको केन्द्रमा पर्ने चिसापानी बजार क्षेत्रभित्रका सडक ढलानका लागि छुट्टाछुट्टै दुईवटा योजना बनाएर काम सुरु गरिएको छ। ठेक्का प्रणालीमार्फत सुरु गरिएको दुवै सडक ढलान योजनाको भौतिक प्रगति करिब ४० प्रतिशत सम्पन्न भएको गाउँपालिकाका प्रमुख इन्जिनियर रमेशकुमार यादवले जानकारी दिए।

चिसापानी बजार ढलानका लागि भ्याटसहित १ करोड ४ लाख ४२ हजार ३३ रुपैयाँ तथा गाउँपालिका जाने बाटो ढलानका लागि ५९ लाख १३ हजार ७ सय ३४ रुपैयाँको लागतमा ठेक्का लगाइएको छ। चिसापानी बजार ढलानको जिम्मा वियान्सा अग्रिम जेभीले लिएको छ भने गाउँपालिका जाने बाटो ढलानको जिम्मा जेमपिया हिल्स कन्सट्रक्सन प्रालिले लिएको प्रमुख इन्जिनियर यादवले जानकारी दिए।

चिसापानी बजार ढलानका लागि निर्माण कम्पनीसँग विसं २०८२ चैत ३० गतेभित्र ढलानको काम सम्पन्न गर्ने गरी विसं २०८२ असोज ५ गते ठेक्का सम्झौता गरिएको छ। यस्तै गाउँपालिका जाने बाटो ढलानको काम विसं २०८२ चैत १५ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०८२ असोज २६ गते सम्झौता गरिएको छ।

चिसापानी बजार तथा गाउँपालिकाको कार्यालय जाने सडक ढलानको काम धमाधम भइरहेकाले सम्झौता मितिमै सम्पन्न हुने अवस्था देखिएको जन्तेढुंगा गाउँपालिककी अध्यक्ष अरुणादेवी राईले बताइन्।

'बजार ढलान नहुँदा ठूलो समस्या थियो। गुणस्तर निर्धारण गराउँदै समयमै काम सम्पन्न गराउन गाउँपालिकाको तर्फबाट निर्माण व्यवसायीमाथि खबरदारी गरिरहेका छौँ,' उनले भनिन्, 'सडक ढलानको काम सम्पन्न भएपछि चिसापानी बजार सफा र सुन्दर हुनेछ। यसमा स्थानीयवासीको पनि सहयोग र समर्थन आवश्यक छ।'

बजार ढलानको क्रममा केही समयअघि स्थानीयवासी र निर्माण व्यवसायीबीच विवादसमेत भएको थियो। ढलानमा प्रयोग भएका समाग्री गुणस्तरहीन भएको भन्दै स्थानीयले आवाज उठाएपछि केही दिन कामसमेत रोकिएको थियो।

स्थानीयको विरोधपछि अनुगमनमा गएका गाउँपालिकाका कर्मचारीमाथि हातपातसमेत भएको भन्दै कर्मचारीहरूले विज्ञप्ति निकालेर कारबाहीको माग गरेका थिए। निर्माण व्यवसायी र स्थानीयबीचको विवादमा कर्मचारीमाथि हातपात भएपछि सर्वपक्षीय भेलामा सहमति गराएर कामलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ।

बजार क्षेत्रभित्रको सडक साँघुरो रहेको र त्यसलाई फराकिलो बनाउनेक्रममा पनि विवाद भएको थियो। स्थानीयको अवरोधका कारण विवाद भएपछि गाउँपालिकाको तर्फबाट सबै समस्या समाधान गरेर काम सुरु गराइएको हो।

हरेक हप्ताको शनिबार हटिया लाग्ने चिसापानी बजार क्षेत्रभित्रका सबै सडक ढलान हुने भएपछि स्थानीयसमेत हर्षित भएका छन्। साँघुरो ठाउँ तथा हिउँदमा धुलो र बर्सातमा हिलोका कारण समस्या झेल्दै आएका चिसापानी बजारका स्थानीय ढिलै भए पनि बजार ढलान हुने भएपछि हर्षित भएका हुन्।

चिसापानी बजारस्थित बीपी चोकलाई केन्द्र मानेर चिसापानी माध्यमिक विद्यालय, गाउँपालिकाको कार्यालय तथा बसपार्क जाने छुट्टाछुट्टै तीनवटा सडक ढलानको काम सुरु गरिएको जनाइएको छ। दायाँ-बायाँ नाली निर्माण गरेर कम्तीमा चार मिटर चौडाइ सडकमा ढलान गर्नेगरी काम सुरु गरिएको योजना सम्पन्न भएपछि चिसापानी बजार क्षेत्रका सबै सडक ढलान हुने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले संघीय सरकारसँगको लागत साझेदारीमा गत वर्षबाट चिसापानी बजारको सडक ढलानको काम सुरु गरेको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिए। गत वर्ष ४२ लाख ४२ हजार २ सय १५ रुपैयाँको लागतमा भीमा कन्सट्रक्सन प्रालिले ठेक्का लिएर १ सय १५ मिटर सडक ढलान गरेको थियो। रासस


प्रकाशित : बिहीबार , माघ १ २०८२१५:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend