सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

अमेरिकाले सुरु गर्‍यो भेनेजुएलाको तेल बिक्री, ५० करोड डलरबराबरको तेल बजारमा

बिहीबार , माघ १ २०८२
अमेरिकाले सुरु गर्‍यो भेनेजुएलाको तेल बिक्री, ५० करोड डलरबराबरको तेल बजारमा

अमेरिकाले भेनेजुएलाको बन्दरगाह र ट्यांकरहरूमा रोकिएका करिब ३ करोडदेखि ५ करोड ब्यारेल तेल बजारमा ल्याउने योजना बनाएको छ। यसबाट अमेरिकाले करिब २ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ।

काठमाडौं- अमेरिकाले भेनेजुएलाबाट औपचारिकरुपमा तेल बिक्री सुरु गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाबाट कब्जा गरिएको कच्चा तेलको पहिलो लटको बिक्री गरेको हो। 

जनवरीको सुरुमा भेनेजुएलामाथि गरिएको सैन्य कारबाही र राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी गरेको थियो। भेनेजुएलाको तेल भण्डारमाथि नियन्त्रण लिन अमेरिकाले उक्त आक्रमण गरेको थियो। भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिएर हाल अमेरिकाको कारागारमा राखिएको छ। उनीमाथि विभिन्न आरोपहरु लगाएर अदालतमा पेस गरिएको छ। 

यो घटनाक्रमपछि अमेरिकाले त्यहाँको विशाल तेल भण्डारमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो। भेनेजुएलामा रहेको तेल उत्खनन् अमेरिकी कम्पनीमार्फत मात्र हुने घोषणा ट्रम्पले यसअघि नै गरिसकेका छन्। 

अमेरिकाले पहिलो लटमा भेनेजुएलाबाट ५० करोड डलर बराबरको बिक्री गरेको अमेरिकी अधिकारीहरुले बताएको सीएनएनले लेखेको छ। अमेरिकाले भेनेजुएलाको बन्दरगाह र ट्यांकरहरूमा रोकिएका करिब ३ करोडदेखि ५ करोड ब्यारेल तेल बजारमा ल्याउने योजना बनाएको छ। यसबाट अमेरिकाले करिब २ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ।

अमेरिकाले भेनेजुएलाको तेल बजारमा ल्याएसँगै अन्तर्राष्ट्रिय बजारमा क्यानडा जस्ता देशहरूको तेलसँग प्रतिस्पर्धा गर्ने छ। उक्त छिटो बिक्री गर्नका लागि भेनेजुएलाको तेल केही सस्तो दरमा उपलब्ध गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन्।

ट्रम्पको योजना र लगानीको दाबी

अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाको ध्वस्त भएको ऊर्जा क्षेत्रलाई पुनर्जीवित गर्न अमेरिकी तेल कम्पनीहरूले कम्तीमा १ खर्ब डलर लगानी गर्ने घोषणा गरेका थिए। उनले भनेका छन्, ‘भेनेजुएलाको तेल उद्योग अमेरिकी सीप र ट्यालेन्टले बनाइएको थियो, जसलाई समाजवादी शासनले हामीबाट खोसेको थियो। अब हामी त्यसलाई फेरि व्यवस्थित बनाउनेछौँ।’

यद्यपि ह्वाइट हाउसमा भएको छलफलका क्रममा ठूला तेल कम्पनीका कार्यकारीहरूले भने केही आशंका व्यक्त गरेका छन्। भेनेजुएलाको पूर्वाधार निकै जीर्ण अवस्थामा रहेको र राजनीतिक अस्थिरता अझै कायम रहेकाले तत्कालै अर्बौँ डलर लगानी गर्न कम्पनीहरु तयार नहुनसक्ने अनुमान गरिएको छ। 

अमेरिकाले भेनेजुएलामा ट्रम्पको घोषणा अनुसार १ खर्ब डलर लगानी भए अन्तर्राष्ट्रिय बजारमा भेनेजुएलाको तेलको आपूर्ति बढ्दा विश्वव्यापी इन्धनको मूल्यमा केही गिरावट आउन सक्ने विश्लेषण गरिएको छ। ट्रम्प प्रशासनले यो आम्दानीको प्रयोग अमेरिकालाई भएको खर्च शोधभर्ना गर्न र भेनेजुएलाको अर्थतन्त्रलाई स्थिर बनाउन प्रयोग गरिने दाबी गरेका छन्। 


प्रकाशित : बिहीबार , माघ १ २०८२१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend