बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निर्वाचन आउन ४९ दिन बाँकी : एकीकृत सुरक्षा योजना

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १ २०८२
निर्वाचन आउन ४९ दिन बाँकी : एकीकृत सुरक्षा योजना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयमा ल्याएको छ।

काठमाडौं- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन्।

लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो। संघीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै आएको छ। यस वर्षको प्रदेश सुरक्षा गोष्ठीमा आन्तरिक सुरक्षाका साथै निर्वाचन लक्षित सुरक्षाबारे बढी केन्द्रित भएको जनाइएको छ।

मङ्गलबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने बताए। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गराउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयमा ल्याएको छ।

यस्तै, निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि, २०८२ स्वीकृति भइ कार्यान्वयनको चरणमा रहेको छ।

सोहीअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढेको छ। यसपटकको निर्वाचनमा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ३४ हजारको हाराहारीमा सशस्त्र प्रहरी खटिँदैछन्।

नेपाल प्रहरीले दुई हजार ८४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ वटा मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदशनील मतदानस्थलका रूपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध गरिएको जनाएको छ। रासस


प्रकाशित : बिहीबार , माघ १ २०८२१०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend