सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

आज माघे संक्रान्ति, देशभर तीर्थस्थलमा माघ स्नान र मेलाको रौनक

बिहीबार , माघ १ २०८२
आज माघे संक्रान्ति, देशभर तीर्थस्थलमा माघ स्नान र मेलाको रौनक

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले माघ १ गतेलाई मकर अर्थात् माघे संक्रान्तिका रूपमा मनाइन्छ। आजैदेखि सूर्य उत्तरायण हुने भएकाले रातभन्दा दिन क्रमशः छोटा हुँदै जान्छन्।

काठमाडौं- सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले माघ १ गतेलाई मकर अर्थात् माघे संक्रान्तिका रूपमा मनाइन्छ। आजैदेखि सूर्य उत्तरायण हुने भएकाले रातभन्दा दिन क्रमशः छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिन स्नान, जप, तप, ध्यान, साधना तथा दानलाई विशेष पुण्यदायी मानिने धार्मिक विश्वास छ।

यसै विश्वासअनुसार आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका देशका विभिन्न तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको उल्लेख्य भीड लागेको छ। ती स्थानहरूमा माघे संक्रान्तिका अवसरमा विशेष मेला पनि लाग्ने परम्परा छ। तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ। वर्षभर नुहाउन अनुकूल वातावरण नपाउने तराईवासीले आज अनिवार्य रूपमा स्नान गर्नुपर्ने मान्यता राख्छन्।

धार्मिक विश्वासअनुसार बिहानै तीर्थस्थलमा गई स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने मान्यता छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार धर्मसिन्धु ग्रन्थमा माघ १ गते घ्यू, चाकु, तिलका परिकार र खिचडी नखाने, दान नगर्ने, जलाशयमा स्नान नगर्ने तथा ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ।

उत्तरायणपछि शुभकर्म गर्न उत्तम मानिने भएकाले आज स्नान, दान, व्रत र ध्यान गर्ने व्यक्तिको मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ। माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी लगायतका परिकार खाने चलन छ। चिसो मौसममा यी परिकारले शरीरलाई न्यानो दिने र त्रिदोष नाश गर्ने आयुर्वेद चिकित्सकहरूको भनाइ छ।

पुस महिनाको अन्तिम दिन पकाएर राखिएको तरुल माघमा खाने प्रचलन पनि विभिन्न स्थानमा पाइन्छ। यसै सन्दर्भमा ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखान प्रचलित छ। आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने र नाडी, स्नायुमण्डल तथा हड्डी सुदृढ हुने आयुर्वेद शास्त्रीय मान्यता रहेको छ।

सूर्य उत्तरायण भएपछि भएको मृत्युलाई पनि धार्मिक रूपमा उत्तम मानिन्छ। महाभारत युद्धमा मृत्युशय्यामा पुगेका भीष्मले इच्छा मृत्युको वरदानअनुसार सूर्य उत्तरायण भएपछि नै शरीर त्यागेको धार्मिक कथन छ। माघे संक्रान्तिका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि विशेष मेला लाग्ने गर्दछ।

यसैबीच माघ महिनामा माघ माहात्म्यको पनि ठूलो धार्मिक महत्व रहेको छ। स्कन्द पुराणअन्तर्गत माघ माहात्म्यमा वर्णित केदारखण्डको कुमार र अगस्त्यबीचको संवाद अर्थात् स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने परम्परा पौष शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको छ।

स्वस्थानी व्रत बस्ने श्रद्धालुले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा छ। यसैले यसलाई माघ स्नान पनि भनिन्छ।

माघे संक्रान्तिकै अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ। माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने परम्परालाई मध्यनजर गर्दै गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो।


प्रकाशित : बिहीबार , माघ १ २०८२०८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend