सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

पुस मसान्तसम्म ५ खर्ब ७८ अर्ब राजस्व संकलन, लक्ष्यको ८१.४ प्रतिशतमा सीमित

बिहीबार , माघ १ २०८२
पुस मसान्तसम्म ५ खर्ब ७८ अर्ब राजस्व संकलन, लक्ष्यको ८१.४ प्रतिशतमा सीमित

अर्थ मन्त्रालयका अनुसार तथ्यांक अनुसार पुस मसान्तसम्म ५ खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन सो अवधिसम्मको लक्ष्यको ८१.४० प्रतिशत मात्र हो।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म सरकारको राजस्व संकलन वार्षिक लक्ष्यभन्दा कम भएको छ। अर्थ मन्त्रालयका अनुसार तथ्यांक अनुसार पुस मसान्तसम्म ५ खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन सो अवधिसम्मको लक्ष्यको ८१.४० प्रतिशत मात्र हो।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। यसमध्ये पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरिएको थियो। तर लक्ष्यअनुसारको संकलन हुन नसकेको देखिन्छ।

पुस महिनामात्र हेर्दा भने लक्ष्यको तुलनामा तुलनात्मक रूपमा राम्रो देखिएको छ। पुस महिनाका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा १ खर्ब ६९ अर्ब १६ करोड रुपैयाँ संकलन भएको छ। यो पुस महिनाको लक्ष्यको ८८.६७ प्रतिशत हो। पुस ३० गते एकै दिन १७ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको तथ्यांकले देखाउँछ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसँग तुलना गर्दा पनि चालु वर्षको राजस्व संकलन गति अपेक्षाअनुसार अघि बढ्न नसकेको देखिन्छ। २०८१/८२ मा वार्षिक राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ तोकिएको थियो। त्यसमध्ये पुस मसान्तसम्म ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा पुस २९ गते (मसान्त)सम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व उठेको थियो। सो वर्ष पुस महिनामात्र १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

आर्थिक गतिविधि अपेक्षित रूपमा विस्तार हुन नसक्नु, आयातमा सुस्तता, आन्तरिक उपभोग कमजोर रहनु तथा कर प्रशासनसँग सम्बन्धित संरचनात्मक चुनौतीका कारण राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको विश्लेषण गरिएको छ। आगामी महिनामा पूँजीगत खर्च र आर्थिक क्रियाकलापमा सुधार आएमा राजस्व संकलनमा केही गति आउने अपेक्षा सरकारको छ।


प्रकाशित : बिहीबार , माघ १ २०८२०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend