काठमाडौं- नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्। चौधरीलाई आज बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले शपथ गराएका हुन्।
राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन्। बैंक सञ्चालक समितिको यही पुस २८ गते सम्पन्न ६९९ औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो।
व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनले चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रूपमा जिम्मेवारी वहन गर्दै आएका छन्।
समाज सेवामा पनि रुचि राख्ने उनी चौधरी फाउण्डेशनको उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्ष पनि हुन्।
