काठमाडौं- कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययरत शोधकर्ता विद्यार्थीहरूलाई अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) प्रदान गर्ने भएको छ।
बैंकले अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका शोधकर्ता विद्यार्थीहरू र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका शोधकर्ता विद्यार्थीहरूलाई शोध कार्य गर्नका लागि अनुसन्धान अनुदान प्रदान गर्ने भएको हो।
बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने शोध कार्यका लागि एफफिल गर्दै गरेका दुई जना शोधकर्ता विद्यार्थीहरूलाई जनही १ लाख रुपैयाँका दरले अनुसन्धान अनुदान प्रदान गरिने भएको छ।
यस्तै व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका ४ जना शोधकर्ता विद्यार्थीहरूलाई बैंकिङ, अर्थतन्त्र र सूचना तथा प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने शोध कार्यका लागि जनही ५० हजार रुपैयाँका दरले अनुसन्धान अनुदान प्रदान गरिने बैंकले जनाएको छ।
उक्त अनुदान प्राप्त गर्नका लागि सम्बन्धित कलेजको सिफारिससहित १४ मार्च २०२६ भित्र बैंकसमक्ष प्रस्तावना पेस गर्नुपर्नेछ। सम्बन्धित विषयका विज्ञसमेत रहेको छनोट समितिले उक्त अनुदान प्राप्त गर्ने विद्यार्थीहरूको छनोट गर्नेछ।
विद्यार्थीहरूले गर्ने शोध कार्यहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले भरपर्दो र प्रमाणित गर्न सकिने तथ्यांकमा आधारित र मौलिक हुनुपर्ने बैंकले जनाएको छ। बैंकले प्रदान गर्ने उक्त अनुदानले एमफिल र स्नातकोत्तर गर्दै गरेका शोधकर्ता विद्यार्थीहरूलाई सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।
नेपाल राष्ट्र बैंकले विश्वविद्यालय तथा कलेजमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने शोध, अनुसन्धान कार्य गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट फेलोशिप/रिसर्च ग्रान्ट प्रदान गर्न सक्ने व्यवस्था गरेसँगै कामना सेवा विकास बैंकले अनुसन्धान अनुदान उपलब्ध गराउने भएको हो।
नेपाल राष्ट्र बैंकको व्यवस्थाबमोजिम अनुसन्धान अनुदान प्रदान गर्ने कामना सेवा विकास बैंक पहिलो वित्तीय संस्था हो। उक्त अनुसन्धान अनुदानसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।
