काठमाडौं- सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ बस्तीपुरस्थित हायुटारमा रहेको नेपाल एसबीआई बैंकको शाखामा मंगलबार राति लुटपाट भएको छ।
२९ गते मंगलबार राति करिब ८ बजेर ४० मिनेटको समयमा ५/६ जनाको संख्यामा आएको लुटेरा समूहले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिइ खुकुरी प्रहार गरेर सामान्य घाइते बनाएका थिए। त्यसपछि बैंकका अन्य कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिइ बैंकको भोल्टमा रहेको करिब ३ करोड १० लाख ९५ हजार २ सय ८३ रुपैयाँ लुटेर फरार भएका थिए।
जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रकाश सुवेदीका अनुसार घटनाको जानकारी पाउनासाथ सक्रिय भएको प्रहरी टोलीले संलग्नहरूको खोजी कार्य सुरु गरेको थियो। खोजीकै क्रममा प्रहरीले लुटेराहरूले लुटेर लैजाँदै गरेको रकममध्ये १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ फेला पारी बरामद गरेको छ।
लुटेराहरूले बनेपाबाट रिजर्भ गरी ल्याएको बीएडी ०३९८ नम्बरको टाटा सुमो जिप र त्यसका चालक भवत सिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार लुटेराहरूले सोही गाडी प्रयोग गरी घटनास्थलमा आएका र फरार हुने योजना बनाएका थिए।
प्रहरीले घाइते गार्डको प्राथमिक उपचार गराएको छ र उनको अवस्था सामान्य रहेको जनाएको छ।
हाल फरार रहेका अन्यकाे खोजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।