काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको कुल निकासी ५८ दशमलव १७ प्रतिशतले वृद्धि भए पनि निर्यातका प्रमुख पाँच वस्तुमा भने उल्लेख्य गिरावट देखिएको छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) का अनुसार सोयाबिन, पाम र सूर्यमुखी तेलको उच्च निकासीले समग्र निर्यात बढाएको भए पनि फलाम तथा फलामजन्य वस्तु, यार्न, तयारी पोशाक, प्लाइउड र गलैंचाको निर्यात अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको हो।
केन्द्रको तथ्यांकअनुसार पाँच महिनामा फलाम तथा फलामजन्य वस्तुको निर्यातमा सबैभन्दा ठूलो गिरावट आएको छ। गत आवको सोही अवधिको तुलनामा चालु आवको पाँच महिनामा यस वर्गको निर्यात ७४ दशमलव ८० प्रतिशतले घटेर १ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ।
निर्यात घट्ने दोस्रो प्रमुख वस्तुमा प्लाइउड रहेको छ। नेपालले प्रायः भारतमै प्लाइउड निर्यात गर्दै आएको भए पनि चालु आवको पाँच महिनामा यसको निर्यात ५१ दशमलव ९१ प्रतिशतले घटेर १ अर्ब ६३ करोड रुपैयाँमा खुम्चिएको छ।
भारतबाट ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) प्रमाणपत्र प्राप्त गर्न ढिलाइ हुनु यसका प्रमुख कारणमध्ये एक रहेको उद्योगीहरूको भनाइ छ।
गलैँचाको निर्यात पनि ओरालो लागेको छ। चालु आवको पाँच महिनामा नेपालबाट ४ अर्ब १३ करोड रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ७० प्रतिशतले कम हो।
यस्तै यार्नको निर्यातमा ८ दशमलव ६३ प्रतिशतले कमी आएको छ। यस अवधिमा नेपालबाट ५ अर्ब २२ करोड रुपैयाँ बराबरको यार्न मात्रै निर्यात भएको केन्द्रले जनाएको छ।
तयारी पोशाकको निर्यात पनि घट्दो क्रममा रहेको छ। समीक्षा अवधिमा तयारी पोशाकको निर्यात ३ दशमलव ३४ प्रतिशतले घटेर ४ अर्ब १ करोड रुपैयाँमा सीमित भएको छ। भारतबाट बीआईएस प्रमाणपत्र पाउन ढिलाइ हुनु तयारी पोशाक तथा प्लाइउड दुवैको निर्यात घट्नुको मुख्य कारणका रूपमा देखिएको छ।
यद्यपि पछिल्ला केही दिनयता भारतबाट बीआईएस प्रमाणपत्र प्राप्त हुन थालेकाले आगामी महिनामा प्लाइउडको निकासी बढ्ने अपेक्षा गरिएको छ।
केन्द्रका अनुसार हालसम्म १७ वटा उद्योगले बीआईएस पाइसकेका छन् भने थप १५ वटा उद्योग प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा छन्। यसले निकट भविष्यमै प्लाइउड निर्यातमा सुधार ल्याउने संकेत गरेको छ।
पाँच महिनामा निर्यात घटेका प्रमुख वस्तु (रु अर्बमा)
फलाम तथा फलामजन्य वस्तु:
आव २०८१/८२: ५.८७
आव २०८२/८३: १.४८
यार्नका उत्पादन:
आव २०८१/८२: ५.७२
आव २०८२/८३: ५.२२
गलैंचा:
आव २०८१/८२: ४.९६
आव २०८२/८३: ४.१३
तयारी पोशाक:
आव २०८१/८२: ४.१५
आव २०८२/८३: ४.०१
प्लाइउड:
आव २०८१/८२: ३.४०
आव २०८२/८३: १.६३
स्रोत: व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र