काठमाडौं- नेपाल सरकारले नेपाली तथा भारतीय नागरिकले भारततर्फ लैजान र भारतबाट नेपाल भित्र्याउन पाउने भारतीय रुपैयाँसम्बन्धी नियम स्पष्ट पारेको छ। राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले भारतीय रुपैयाँ १०० भन्दा कम दरका बैंक नोट भने असीमित रूपमा भारत लैजान सकिने व्यवस्था यथावत् रहेको जनाएको छ।
सरकारी सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भई हाल चलनचल्तीमा रहेका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम भारतीय रुपैयाँ २५ हजारसम्म मात्र नेपालबाट भारत लैजान तथा भारतबाट नेपाल भित्र्याउन पाउनेछन्।
भारत सरकारले सन् २०१६ नोभेम्बर ९ मा भारतीय रुपैयाँ ५०० र १००० दरका नोट अवैध घोषणा गर्दै नोटबन्दी लागू गरेको थियो। सो निर्णयपछि निष्कासनभन्दा अगाडि चलनचल्तीमा रहेका ५०० र १००० दरका भारतीय रुपैयाँका नोटको कारोबार पूर्ण रूपमा निषेध गरिएको सूचनामा उल्लेख छ। यस्ता पुराना नोटको कुनै पनि किसिमको लेनदेन गर्न नपाइने सरकारको स्पष्टिकरण छ।
सूचनाअनुसार नेपाली मुद्राको हकमा नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी रकम भारत लैजान वा पठाउन पाइने छैन। यस्तै, भारतीय मुद्रा भारतबाहेक अन्य मुलुकमा लैजान वा पठाउन पनि प्रतिबन्ध गरिएको छ।
विदेशी विनिमय सटही कारोबार गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाबाट कानुनबमोजिम प्राप्त गरिएको विदेशी मुद्रा भने तोकिएको प्रक्रिया पूरा गरी नेपालबाट बाहिर लैजान वा पठाउन सकिने व्यवस्था गरिएको छ।
विदेशी नागरिकको हकमा भने नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी विदेशी मुद्रा लैजान वा पठाउनुपर्ने भएमा नेपाल प्रवेश गर्दा आफूसँग ल्याएको नगद विदेशी मुद्राको रकम भन्सार अधिकृतसमक्ष घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएको छ।
सरकारले प्रकाशित गरेको यो सूचनाले सीमा क्षेत्रमा हुने नगद कारोबार, अवैध मुद्राको ओसारपसार तथा विदेशी विनिमय व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।