बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२०२४ मै उत्पादन बन्द भएको ज्यागुअर ब्रान्डको आधिकारिक बिक्रेता र ईभी कसरी आयो नेपाल?

वाणिज्यले किर्ते बिक्रेतामा एजेन्सी दिँदा नयाँमा भित्रिए रिकन्डिसनका गाडी

बुधबार, पुस ३० २०८२
२०२४ मै उत्पादन बन्द भएको ज्यागुअर ब्रान्डको आधिकारिक बिक्रेता र ईभी कसरी आयो नेपाल?

ज्यागुअरले २०२६ बाट पुनः कार उत्पादन सुरु गर्नेगरी सबै आईसीई कार र विद्युतीय कारको उत्पादन २०२४ मा बन्द गरेको थियो। तर नेपालमा भने ज्यागुअरको विद्युतीय कार आईपेस आयात हुन लागेको छ।

काठमाडौं- बेलायती विलासी कार निर्माता कम्पनी ज्यागुअर ल्यान्ड रोभरले ज्यागुअर र ल्यान्ड रोभर दुई अलग ब्रान्डनेममा कार उत्पादन गर्दै आएको छ। कम्पनीले पूर्णविद्युतीय सवारी र अल्ट्रा लक्जरी सवारी ल्याउने भन्दै ज्यागुअर ब्रान्ड नेमका सवारीको उत्पादन २०२४ बाटै बन्द गरेको हो। 

ज्यागुअरले २०२६ बाट पुनः कार उत्पादन सुरु गर्नेगरी सबै आईसीई कार र विद्युतीय कारको उत्पादन २०२४ मा बन्द गरेको थियो। तर नेपालमा भने ज्यागुअरको विद्युतीय कार आईपेस आयात हुन लागेको छ।

नयाँ कार भनेर आयात गर्न लागिएको उक्त कारको उत्पादन बन्द भएको दुई वर्ष भइसकेको छ। सबै प्रकारका कार उत्पादन बन्द गरेको ज्यागुअरले कारक्याब गेयर प्रालिलाई नेपालका लागि आधिकारिक बिक्रेता नियुक्ति दियो भन्ने कुरा नै हाँस्यास्पद छ। 

पूर्णविद्युतीय सवारीमात्र बनाउने भनेर पुरानो उत्पादन बन्द गरेको र नयाँ उत्पादन बजारमा आइनसकेकाले ज्यागुअर अहिले ट्रान्जिसनको अवस्थामा छ। ट्रान्जिसनको अवस्थामा रहेको कम्पनीले आधिकारिक बिक्रेताको नियुक्ति दियो भनेर कारक्याब गेयर प्रालिले देखाएको किर्ते कागजातका आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक प्रलोभनमा एजेन्सी दर्ताको प्रमाणपत्र दिएको प्रष्ट हुन्छ। यसरी एजेन्सी दर्ता हुँदा देशको लाखौँ विदेशी मुद्रा सञ्चिति सेकेन्ड ह्यान्ड (रिकन्डिसन) गाडी आयातमा गएको छ।

नेपालको कानूनअनुसार प्रयोग भइसकेको (सेकेन्ड ह्यान्ड) कार आयात गर्न पाइँदैन। त्यस्तै ज्यागुअरका कार बिक्री नभएर स्टकमा रहेको कार आयात भएको हुनसक्ने सम्भावना ज्यादै न्यून छ। त्यसको पनि कुनै आधिकारिक जानकारी पाउने सम्भावना छैन, किनकि उक्त कार उत्पादन कम्पनी ज्यागुअरसँग नभइ नेपालमा कार आयात गर्नकै लागि खडा गरिएको कम्पनीसँग कारक्याब गेयरले खरिद गरेर ल्याएको देखिन्छ। वाणिव्य विभागले एजेन्सी दिँदा यस्ता कुराहरू हेर्दै नहेरी ‘खाम’ र किर्ते कागजात पेस गर्ने कम्पनीलाई एजेन्सी प्रमाणपत्र दिँदै आएको छ। 

किर्ते कागजात बनाएर वाणिज्यबाट एजेन्सी लिएको कम्पनीले यातायात व्यवस्था विभागलाई आयात अनुमति दिन दबाब दिने गरेको छ। वाणिज्य विभागले सबै कागजात हेरेर एजेन्सी दिएकाले सवारीको परीक्षण रिपोर्ट दिएर आयात अनुमतिका लागि भन्सारलाई पत्र लेखाउन कारक्याबले दबाब दिएको थियो। वाणिज्यको एजेन्सीका आधार र परीक्षण रिपोर्ट हेरेर यातायात विभागले आयात अनुमति दिँदै आएको छ। यता भन्सार विभागले भने दुई निकायको सिफारिस आएको र राजस्व आउने देखेपछि कागजात केही नहेरी आँखा चिम्लिएर गाडी जाँचपास गर्दै आएको छ। 

कागजातको दोहोरो परीक्षण नहुँदा पुराना गाडी आयात गरेर आयातकर्ताहरूले एकातिर उपभोक्ता ठगिरहेका छन् भने अर्कोतिर लाखौँ डलर वैधानिक च्यानलबाट विदेश लगिरहेका छन्। 

उत्पादन नै बन्द भएको गाडीको किर्ते कागजात बनाएर तेस्रो पक्षबाट खरिद गरिएको भन्दै पुराना तथा सेकेन्ड ह्यान्ड महँगा कार कारक्याब गेयर प्रालि नामक कम्पनीले ज्यागुअरको कार आयात गरेको हो। 

कारक्याब गेयर प्रालि नामक कम्पनीले २०८२ भदौ तेस्रो साता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट एजेन्सी दर्ताको प्रमाणपत्र लिएको थियो। वीरगञ्ज भन्सार पारि आइपुगेको सो कम्पनीले आयात गरेको ज्यागुअरको विद्युतीय कार आईपेस जाँचपास हुने तयारीमा छ। 

कारक्याब गेयरले ६ वटा ज्यागुअर आईपेस विद्युतीय कार आयात गरेको हो। उक्त कार न्युजिल्यान्डबाट ल्याइएको बताइएको छ तर यसको स्वतन्त्र पुष्टि हुने भने बाँकी छ। भन्सार जाँचपासका लागि तयार पारिएको कागजातअनुसार आईपेस ईभीमा २ सय ९४ किलोवाटको मोटर पिक पावर छ भने यो कारमा भएको मोटरको रेटेड पावर १ सय ७५ किलोवाट रहेको छ। त्यस्तै कारमा ७५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको आईपेसले एक पटकको फुल चार्जमा ५ सय ५४ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। 

युरो गेयर प्रालि, किशोर गेयर प्रालिपछि किशोर बादे श्रेष्ठले खोले कारक्याब गेयर प्रालि कम्पनी बनाएर फेरि कार आयात सुरु गरेको हो। किशोर गेयर प्रालि र युरो गेयर प्रालिले विगतमा ज्यागुअर ल्यान्ड रोभर, प्युजो तथा मर्सिडिज बेन्जका कार आयात गर्दै आएको थियो। २०१६ को मध्यदेखि भने ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेताको नियुक्ति अवधि सकिएको थियो। त्यसपछि पनि कम्पनीले अवैध रुपमा ज्यागुअर ल्यान्ड रोभरका कार आयात गरिरहेको थियो। कोभिडपछि भने युरो गेयर/किशोर गेयरले कार आयात गरेको थिएन। 

त्यस्तै किशोर श्रेष्ठले जर्मन कम्पनी मर्सिडिज बेन्जको आधिकारिक बिक्रेता रहेको कम्पनीमा लफडा गरेपछि उत्पादक कम्पनीले नै नेपालमा आधिकारिक बिक्रेतामार्फत कार दिएको छैन। दीपक गौतम एन्ड कम्पनी आधिकारिक बिक्रेता रहेको कम्पनीको सेयर हिस्सेदार बदलिएका थिए। त्यसमा किशोर श्रेष्ठको २५ प्रतिशत हिस्सेदारी रहेकोमा बिक्रीपछि मर्सिडिज बेन्जलाई नै कम्पनीमा लफडा देखाएपछि मर्सिडिजले नेपाली कम्पनीलाई कार दिएको छैन। 

आर्थिक ऐनमा भएको लुप होल र वाणिज्य विभागको लापरबाही तथा भन्सार कार्यालयहरूको आशिर्वाद पाइरहँदा कारक्याब गेयर प्रालि, काइरोस इन्टरनेसनल, अरेत इन्टिरनेसनल प्रालिलगायत कम्पनीले लाखौँ डलर विदेशी मुद्रा विदेश पठाइरहेका छन्। यसतर्फ सरोकारवाला निकायले बेलैमा ध्यान नदिए यो प्रवृत्तिलाई थप मलजल मिल्नेछ।

मौलाउँदो अवैध आयात : कारक्याब गेयरले ल्यायो ज्यागुअरको विद्युतीय कार आईपेस मौलाउँदो अवैध आयात : कारक्याब गेयरले ल्यायो ज्यागुअरको विद्युतीय कार आईपेस


प्रकाशित : बुधबार, पुस ३० २०८२१३:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend