सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

गोरखाका २२५ मध्ये २५ मतदानस्थल अझै सडक सञ्जालबाहिर, मतपेटिका ओसार्न हेलिकप्टर चाहिने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २९ २०८२
गोरखाका २२५ मध्ये २५ मतदानस्थल अझै सडक सञ्जालबाहिर, मतपेटिका ओसार्न हेलिकप्टर चाहिने

गौरीशंकर आधारभूत विद्यालय मतदानकेन्द्र पुग्न पनि कम्तीमा तीन दिन पैदल हिँड्नुपर्छ। वडा नं ७ को छुलेनिले आधारभूत विद्यालय केन्द्र पुग्न तीन दिन हिँड्नुपर्छ।

गोरखा- गोरखाका २५ मतदानस्थल अझै सडक सञ्जालसँग जोडिएका छैनन्। जिल्लाका जम्मा २२५ मतदानस्थलमध्ये २०० मतदानस्थल भने सडक सञ्जालसँग जोडिएको छ।

अधिकांश हिमालपारिका गाउँपालिका चुमनुब्री र केही धार्चेका मतदानस्थल सडक सञ्जालदेखि तीन दिन दूरी टाढा सम्मका रहेका निर्वाचन कार्यालय गोरखाले जनाएको छ। चुमनुब्री गाउँपालिकाका २४ र धार्चेका एक मतदानस्थल सडक सञ्जालसँग जोडिएका छैनन्। निर्वाचनका कर्मचारी तथा सुरक्षाकर्मीहरु चुमनुब्री गाउँपालिकाका मतदानस्थल पुग्न कम्तीमा तीनदिन पैदल हिँड्नुपर्ने बाध्यता छ।

सबैभन्दा टाढा चुमनुब्री-१ को साम्दो आधारभूत विद्यालय केन्द्र रहेको छ। त्यहाँसम्म पुग्न सडक पुगेको चुमनुब्री-३ पाङसिङबाट कम्तीमा तीन देखि चार दिनसम्म पैदल हिँड्नुपर्छ। सोही वडाको गौरीशंकर आधारभूत विद्यालय मतदानकेन्द्र पुग्न पनि कम्तीमा तीन दिन पैदल हिँड्नुपर्छ। वडा नं ७ को छुलेनिले आधारभूत विद्यालय केन्द्र पुग्न तीन दिन हिँड्नुपर्छ।

जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार चुमनुब्री-२ को गाविस भवन स्यो केन्द्र, सामुदायिक भवन ल्हो केन्द्र, वडा नं ७ कै बुद्ध आधारभूत विद्यालय केन्द्र र छेकम आधारभूत विद्यालय केन्द्र पुग्न पनि निर्वाचनका कर्मचारीहरु सडकदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्छ। वडा नं ४ को प्रोक आधारभूत विद्यालय प्रोक, हिमचुली आधारभूत विद्यालय छाक, नाम्रुङ स्वास्थ्यचौकी केन्द्र, क्वाक आधारभूत विद्यालय क्वाक पुग्न पनि दुई दिन पैदल हिँड्नुपर्छ।

कार्यालयबाट प्राप्त विवरणअनुसार क्राक आधारभूत विद्यालय केन्द्र, गुम्बा हिमाली आधारभूत विद्यालय केन्द्रसम्म पुग्न एक दिन पैदल हिँड्नुपर्छ। वडा नं ६ को सिप्चेत आधारभूत विद्यालय केन्द्र, चुम्लिङ आधारभूत विद्यालय केन्द्र, सिद्धगणेश आधारभूत विद्यालय केन्द्र र खार सामुदायिक खोपकेन्द्र पुग्न पनि सडकदेखि एक दिन पूरै पैदल हिँड्नुपर्ने बाध्यता छ।

वडा नं ३ को वुद्ध मावि केन्द्र, बुद्ध हिमाली आधारभूत विद्यालय न्याक केन्द्र, सिदुङ आधारभूत विद्यालय सर्स्यू केन्द्र, फिलिम आधारभूत विद्यालय पाती केन्द्र पनि सडक सञ्जालसँग जोडिएको छैन। ती केन्द्रहरु एक घण्टादेखि चार घण्टासम्म पैदल हिँड्नुपर्ने दूरीमा छन्।

धार्चे गाउँपालिका-१ हुलचुक मतदान केन्द्रसम्म सडक निर्माण गरिए पनि मोटर चल्ने अवस्थाको नभएको वडाध्यक्ष रामसिङ गुरुङले बताए। त्यहाँ पुग्न करिब दुई घण्टा पैदल हिँड्नुपर्छ।

ती मतदान केन्द्रहरुबाट मतपेटिका ओसार्न विगतमा हेलिकप्टरको प्रयोग गरिएकाले यसपटक पनि हेलिकप्टर माग गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए। रासस


प्रकाशित : मंगलबार, पुस २९ २०८२१०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend