काठमाडौं- नेपाली बजारमा पछिल्लो समय प्रिमियम ब्रान्डका सवारीसाधनको अवैध आयात मौलाउँदै गएको छ। किर्ते कागजात बनाएर तेस्रो पक्षबाट खरिद गरिएको भन्दै पुराना तथा सेकेन्ड ह्यान्ड महँगा कार आयात भइरहेको छ। यही बाटोबाट कारक्याब गेयर प्रालि नामक कम्पनीले पनि ज्यागुअरको कार आयात गरेको हो।
ज्यागुअर ल्यान्ड रोभर बेलायली विलासी कार निर्माता कम्पनी हो। यो कम्पनीले नेपाली बजारमा सन् २०१६ को मध्येबाट आफ्नो कुनै आधिकारिक बिक्रेता नभएको स्पष्टरुपमा बताएको छ। बिजनेस न्युजले नै गरेको इमेलमा ज्यागुअर ल्यान्ड रोभरको एसिया प्यासिफिक कार्यालयले ‘नेपालमा अहिले आफ्नो आधिकारिक बिक्रेता नभएको र आयात भइरहेको भए त्यो अवैध रुपमा भएको’ बताएको थियो।
काइरोस इन्टरनेसनल नामक कम्पनी पनि अवैधरुपमा ल्यान्ड रोभर तथा रेन्ज रोभरका कार आयात गरिरहेको छ। सोही बाटोबाट कारक्याब गेयर प्रालिले पनि ज्यागुअरको विद्युतीय कार आयात गरेको हो।
कम्पनीले ज्यागुअर ल्यान्ड रोभरबाट आधिकारिक बिक्रेताको नियुक्त पाएको अर्को कम्पनीबाट आफू आधिकारिक बिक्रेता भएर ज्यागुअरको कार ल्याएको काजगात बुझाएर वाणिज्य विभागबाट एजेन्सी लिएको थियो। कारक्याब गेयर प्रालि नामक कम्पनीले २०८२ भदौ तेस्रो साता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट एजेन्सी दर्ताको प्रमाणपत्र लिएको थियो।
वीरगञ्ज भन्सार पारि आइपुगेको सो कम्पनीले आयात गरेको ज्यागुअरको विद्युतीय कार आईपेस अबको एक दुई दिनभित्र जाँचपास हुने भन्सार एजेन्ट स्रोतले बताएको छ।
‘सम्भवतः न्युजिल्यान्डबाट आयात गरिएको आईपेस विद्युतीय कार जाँचपासका लागि आवश्यक कागजात जुटाउने क्रममा रहेको छ,’ स्रोतले भन्यो, ‘गाडी छुटाउन यातायात विभागको अनुमति आउने क्रममा रहेको र त्यो आएपछि जाँचपास हुने साथीहरुले बताएका छन्।’
कारक्याब गेयरले ६ वटा ज्यागुअर आईपेस विद्युतीय कार आयात गरेको स्रोतको भनाइ छ। उक्त कार न्युजिल्यान्डबाट ल्याइएको बताइएको छ तर यसको पुष्टि हुन भने बाँकी छ। कारक्याब गेयरलाई ज्यागुअरको आधिकारिक बिक्रेता नियुक्त गर्ने कम्पनी रोड्रिगा हो। गाडी जाँचपास भएर आएसँगै कम्पनीलगायत विषय खुल्ने छ।
कारक्याब गेयरले ज्यागुअर आईपेस प्रतिकार करिब ८० हजार अमेरिकी डलरमा खरिद गरेको अनुमान गरिएको छ। भन्सार जाँचपासका लागि तयार पारिएको कागजातअनुसार आईपेस ईभीमा २ सय ९४ किलोवाटको मोटर पिक पावर छ भने यो कारमा भएको मोटरको रेटेड पावर १ सय ७५ किलोवाट रहेको छ। त्यस्तै कारमा ७५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको आईपेसले एक पटकको फुल चार्जमा ५ सय ५४ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यसअघि पनि किशोर गेयरले २ वटा ज्यागुअरको विद्युतीय कार आईपे सोही बाटोबाट ल्याएर बिक्री गरेको थियो।
विगतदेखि नै किशोर गेयरले अवैध रुपमा सवारी आयात गर्दै आएको थियो। किशोर गेयरले केन्याको आरएमए मोटर्सबाट ज्यागुअर एफपेस कार ५० हजार १ सय अमेरिकी डलरमा खरिद गरेको भन्सार प्रज्ञापन पत्रमा उल्लेख थियो। उक्त कार २०२० सेप्टेम्बर २३ मा भन्सार जाँचपास गराएको थियो। न जेएलआरको केन्यामा उत्पादन प्लान्ट न त किशोर गेयर जेएलआरको आधिकारिक बिक्रेता। तर अर्थ मन्त्रालयका तत्कालीन अधिकारीहरुलाई वित्तीय प्रलोभनमा पारेर ३० प्रतिशत जरिवाना तिरेर किशोर गेयरले गाडी जाँचपास गराएको थियो।
युरो गेयर प्रालि, किशोर गेयर प्रालिपछि किशोर बादे श्रेष्ठले खोलेको कारक्याब गेयर प्रालि कम्पनी बनाएर फेरि कार आयात सुरु गरेको हो। किशोर गेयर प्रालि र युरो गेयर प्रालिले विगतमा ज्यागुअर ल्यान्ड रोभर, प्युजो तथा मर्सिडिज बेन्जका कार आयात गर्दै आएको थियो।
सन् २०१६ को मध्यदेखि भने ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेताको नियुक्ति अवधि सकिएको थियो। त्यसपछि पनि कम्पनीले अवैधरुपमा ज्यागुअर ल्यान्ड रोभरका कार आयात गरिरहेको थियो। कोभिडपछि भने युरो गेयर/किशोर गेयरले कार आयात गरेको थिएन।
त्यस्तै किशोर बादे श्रेष्ठले जर्मन कम्पनी मर्सिडिज बेन्जको आधिकारिक बिक्रेता रहेको कम्पनीमा लफडा गरेपछि उत्पादक कम्पनीले नै नेपालमा आधिकारिक बिक्रेतामार्फत कार दिएको छैन। दीपक गौतम एन्ड कम्पनी आधिकारिक बिक्रेता रहेको कम्पनीको सेयर हिस्सेदार बदलिएका थिए। त्यसमा किशोरको २५ प्रतिशत हिस्सेदारी रहेकोमा बिक्रीपछि मर्सिडिज बेन्जलाई नै कम्पनीमा लफडा देखाएपछि मर्सिडिजले नेपाली कम्पनीलाई कार दिएको छैन।
ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन
