बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चन्दा र श्रमदानबाट पर्यटकीयस्थल घार देउरालीमा दृश्यावलोकन केन्द्र निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २८ २०८२
चन्दा र श्रमदानबाट पर्यटकीयस्थल घार देउरालीमा दृश्यावलोकन केन्द्र निर्माण

म्याग्दी- अन्नपूर्ण गाउँपालिका-६ घारको देउरालीमा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै दृश्यावलोकन केन्द्र निर्माण गरेका छन्।

भुवानी युवा परिवारले दुई वर्षअघि दिवंगत भएका संस्थापक सदस्य स्वर्गीय कृष्णप्रसाद बरुवालको स्मृतिमा दृश्यावलोकनस्थल निर्माण गरेका हुन्। श्रमदानबाहेक करिब २ लाख रुपैयाँ सहयोग जुटाएर देउरालीडाँडा पुग्ने पदमार्ग, रेलिङ, विश्रामस्थल निर्माण र सूचनापाटी स्थापना गरेको परिवारका अगुवा श्यामप्रसाद खड्काले बताए।

'देउरालीलाई पर्यटकीयस्थलको रूपमा विकास गर्नका लागि संस्थाका संस्थापक बरुवालको स्मृतिमा पूर्वाधार निर्माण गरेका हौँ,' उनले भने, 'पहाडको टुप्पोमा रहेको देउरालीमा पदमार्ग र रेलिङ तथा आराम गरेर दृश्यावलोकन गर्ने व्यवस्था मिलाएपछि पर्यटकलाई सहजका साथै सुरक्षित भएको छ।'

भवानी युवा परिवारले १ लाख २० हजार रुपैयाँसहित १ लाख ८५ हजार ५ सय रुपैयाँ सहयोग जुटेको थियो। पाँच जनाले श्रमदानमा सहभागीलाई करिब १३ हजार रुपैयाँबराबरको खाजा खुवाएका थिए। ३५ जनाले सरदर दुई दिनका दरले श्रमदान गरेका थिए। सबैभन्दा बढी नौ दिन श्रमदान गरेका खड्काले थप ३ हजार रुपैयाँबराबरको गिट्टी र बालुवा सहयोग गरेका छन्।

समुद्री सतहदेखि एक हजार ७८४ मिटर उचाइमा रहेको देउरालीबाट निलगिरि र अन्नपूर्ण हिमशृंखला, पहाडी भूगोल, ग्रामीण बस्ती, नागबेली परेर बगेको कालीगण्डकी नदीको दृश्यावलोकन गर्न सकिन्छ। घार, शिख, पाउद्वार, भुरुङ-तातोपानी, दाना, नारच्याङ गाउँ अवलोकन गर्न सकिने देउराली शान्त र एकान्त छ। पोखरेबगर-चित्रे-घोडेपानीको भुवानेदेखि १० मिटर पैदलयात्रा गरेपछि देउराली पुगिन्छ। त्यहाँ पुग्ने कच्ची सडक पनि छ।

पोखरेबगर-चित्रे सडक विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको प्रमुख पर्यटकीयस्थल घोडेपानी जोडिन्छ। घोडेपानी घुम्न आउने पर्यटकको बसाइ लम्बाउन र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन देउरालीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गराउन पहल गरिएको अन्नपूर्ण-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए। रासस


प्रकाशित : सोमबार, पुस २८ २०८२१७:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend