सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २८ २०८२
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द

चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ।

सिन्धुपाल्चोक- चीनको न्यालम-खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल-चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ।

चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ। आइतबार राति न्यालम र खासाको मध्य भागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए। 
 
राईका अनुसार आगो फैलिँदै गएपछि स्थानीय तथा पर्यटक आवतजावतसँगै मालबाहक सवारीसाधनको आवागमनसमेत ठप्प पारिएको छ। उनका अनुसार नाकासँग जोडिएको लिपिङ र तातोपानीलगायत आसपासका क्षेत्रको आकाश धुँवा र खरानीले ढाकिएको तथा आगलागीले सीमा क्षेत्रको सञ्चार तथा नेटवर्क सेवासमेत प्रभावित भएको छ।

गत वर्षको बाढीले रसुवा नाका बन्द भएपछि चीनसँगको अधिकांश व्यापार तातोपानी नाकामार्फत हुँदै आएको थियो। तर, अहिले तातोपानी नाकासमेत बन्द भएपछि करोडौँ रुपैयाँ मूल्यका आयातीत सामान बोकेका कन्टेनर रोकिएका छन्। नाका कहिले खुल्ने भन्ने टुंगो नलाग्दा व्यवसायी र आयातकर्ता थप संकटमा परेको नेपाल ट्रक कन्टेनर मजदुर संघका अध्यक्ष अर्जुन सापकोटा बताउँछन्। रासस


प्रकाशित : सोमबार, पुस २८ २०८२१५:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend