सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

मुस्ताङमा ४८ घण्टादेखि विद्युत सेवा अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २८ २०८२
मुस्ताङमा ४८ घण्टादेखि विद्युत सेवा अवरुद्ध

थासाङ गाउँपालिका-४ मिसीस्थित केन्द्रिय विद्युत प्रसारण लाइनको खम्बामा हावाहुरीले क्षति पुर्‍याएपछि नियमित प्रसारण भइरहेको विद्युत ४८ घण्टादेखि अवरुद्ध भएको विद्युत वितरण संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिए।

मुस्ताङ- यहाँका पाँचवटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत सेवा अवरुद्ध भएको छ। मुस्ताङको घरपझोङ-३ स्थित विद्युत वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हावाका कारण केन्द्रीय विद्युत प्रसारण लाइनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जनाएको हो।

थासाङ गाउँपालिका-४ मिसीस्थित केन्द्रिय विद्युत प्रसारण लाइनको खम्बामा हावाहुरीले क्षति पुर्‍याएपछि नियमित प्रसारण भइरहेको विद्युत ४८ घण्टादेखि अवरुद्ध भएको विद्युत वितरण संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिए। 

उनका अनुसार सुरुमा थासाङ-२ स्थित ३३ केभी सवस्टेसन मर्मतका लागि सेवा अवरुद्ध गरिएकामा आइतबार राति आएको हावाहुरीले विद्युतका खम्बामा क्षति पुर्‍याएपछि सेवा अवरुद्ध भएको हो।

कार्यालय प्रमुख थकालीले खम्बामा क्षति भएका स्थानमा विद्युत प्राधिकरणका प्राविधिक टोली मर्मतका लागि परिचालित भइसकेका जानकारी दिए। थासाङ-२ कोवाङमा प्राधिकरणको ३३ केभी सवस्टेसन रह पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा विद्युत प्रसारणमा समस्या हुँदै आएको छ।

थासाङ-१ टुकुचेमा १३ मेगावाट क्षमताको थापाखोला हाइड्रोले विद्युत उत्पादन गरिरहे पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा केन्द्रीय प्रसारण लाइनमा प्राविधिक समस्या आएमा मुस्ताङ अन्धकारमय हुने गरेको प्रमुख थकालीले बताए। 

थापाखोला हाइड्रोले उत्पादित विद्युत प्राधिकरण वितरण गर्दै आएको छ। जिल्लाका माथिल्लो क्षेत्रमा प्राधिकरणको पहुँच स्थापित नहुँदा मुस्ताङमा पटकपटक विद्युतीय समस्या उत्पन्न हुने गरेको स्थानीयले गुनासो गरेका छन्।

हिउँदयामको अत्यधिक चिसो मौसममा विद्युत आपूर्ति बन्द हुँदा सरकारी कार्यालयका नियमित कामकाजका साथै स्थानीयलाई टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्नलगायत दैनिक काममा समस्या परेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले उल्लेख गरे। रासस


प्रकाशित : सोमबार, पुस २८ २०८२१५:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend