काठमाडौं- क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण संकलन गरी अभिलेख राख्न क्यासिनो सञ्चालकहरूलाई अनिवार्य गरिएको छ। पर्यटन विभागले क्यासिनो व्यवसायीहरूलाई जारी गरेको ‘निर्देशन, २०८२’ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो।
विभागका अनुसार क्यासिनो कारोबारलाई पारदर्शी, उत्तरदायी र कानूनसम्मत् बनाउन उक्त व्यवस्था गरिएको हो। संशोधित निर्देशनअनुसार तोकिएको सीमा भन्दा बढी रकम खर्च गर्ने ग्राहकको पहिचान, खर्चको विवरण तथा आवश्यक अभिलेख सुरक्षित राख्नुपर्नेछ।
पर्यटन विभागले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी वितरणसम्बन्धी जोखिम न्यूनीकरणका लागि क्यासिनो व्यवसायीलाई जारी गरिएको निर्देशन तुरुन्तै लागू हुने स्पष्ट पारेको छ। यो व्यवस्था सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी लागू गरिएको विभागको भनाइ छ।
विभागले क्यासिनो व्यवसायीलाई कानूनी दायित्वप्रति सजग रहँदै तोकिएको मापदण्ड पालना गर्न आग्रहसमेत गरेको छ।