सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

थारू बस्तीमा बढ्यो माघीको चहलपहल

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस २६ २०८२
थारू बस्तीमा बढ्यो माघीको चहलपहल

माघीको आगमनसँगै थारू गाउँहरूमा बिहानदेखि साँझसम्म पुरुष र महिला दुवैको व्यस्तता बढेको छ। कसैले दाउरा जोहो गरिरहेका छन् भने कसैले वनबाट साल र मालुका पात संकलन गरिरहेका छन्।

कञ्चनपुर- थारू समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कञ्चनपुरका बस्तीहरूमा चहलपहल निकै बढेको छ।

माघीको आगमनसँगै थारू गाउँहरूमा बिहानदेखि साँझसम्म पुरुष र महिला दुवैको व्यस्तता बढेको छ। कसैले दाउरा जोहो गरिरहेका छन् भने कसैले वनबाट साल र मालुका पात संकलन गरिरहेका छन्। महिलाहरू घरआँगनमा बसेर पातका दुना-टपरी बनाउन व्यस्त छन्।

'माघीमा पाहुनालाई दुना-टपरीमै खाना पस्किने चलन छ,' कृष्णपुर नगरपालिका-२ वाणीकी दुर्गा चौधरीले भनिन्, 'यसले थारू समुदायको प्रकृतिसँगको आत्मीय सम्बन्ध झल्काउँछ।'

उनका अनुसार थारू समुदायका मौलिक परिकारहरू माघी पर्वको केन्द्रमा रहन्छन्, ती परिकारहरूलाई घरकै महिलाहरूले पात गाँसेर बनाएका दुनाटपरीमा दिने चलन छ। माघीमा अनिवार्य मानिने ‘ढिक्री’, ‘अनदीको भात’, ‘सुँगुरको मासु’ र ‘जाँड’ बनाउने तयारी अहिले अन्तिम चरणमा पुगेको उनले बताइन्।

'माघीका लागि महिलाहरू घरघरमा अनदी चामल भिजाउने, पकाउने र जाँड राख्ने काममा व्यस्त छन्,' शुक्लाफाँटा नगरपालिका-२ का पूर्व बडघर भरतबहादुर चौधरीले भने, 'घरका पुरुषहरू सुँगुरको जोहोमा लागेका छौँ।' उनका अनुसार केही महिला र पुरुषहरू नदी, खोला, तालतलैया र पोखरीमा माछा मार्ने कार्यमा समेत संलग्न भइरहेका छन्। बालबालिकादेखि वृद्धसम्मको सहभागितामा हुने यी तयारीले गाउँमा सामूहिकताको भावना बलियो बनाउने उनको भनाइ छ।

साँझ पर्न नपाउँदै गाउँका चोक र खुला आँगनमा मादलको ताल सुनिन थालिसकेको छ। 'मघौटा नृत्यको अभ्यासले गाउँको वातावरण झन जीवन्त बनेको छ,' शुक्लाफाँटा नगरपालिका-७ का कालुराम डगौराले भने, 'युवायुवतीहरू माघीमा देखाउने नृत्यको अभ्यासमा जुटेका छन् भने ज्येष्ठ नागरिकहरू पुराना माघीका कथा र अनुभव सुनाउँदै बसिरहेका देखिन्छन्।'

माघी पर्वमा विवाहित चेलीबेटीहरूलाई माइती बोलाउने चलन रहेकाले उनीहरूलाई निम्ता दिन थालिएको छ। पर्वको स्वागतमा थारू बस्तीका कच्ची घरहरू लिपपोत गरेर चिटिक्क पारिएका छन् भने पक्की घरहरू रङरोगन गरिएका छन्। आँगन सफा गरिएको छ, गोठघर मर्मत गरिएको छ। गाउँका साझास्थल, मन्दिर र बाटोघाटोमा सामूहिक सरसफाइ अभियान चलाइएको शुक्लाफाँटा नगरपालिका-३ का बरघर राजु चौधरीले जानकारी दिए।

कञ्चनपुरका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर र बेलौरी नगरपालिकाका थारू बहुल क्षेत्रहरूमा माघी विशेष सांस्कृतिक कार्यक्रम तथा महोत्सवको तयारी पनि तीव्र गतिमा भइरहेको छ। माघी पर्वलाई शत्रुता भुलेर मित्रता गाँस्ने पर्वका रूपमा लिइने गरिन्छ।

'पुराना मनमुटाव माघीमा टुङ्ग्याउने, आपसी सम्बन्ध सुधार्ने र नयाँ वर्षलाई सकारात्मक सोचका साथ सुरु गर्ने परम्परा थारू समाजमा गहिरो छ,' जोनापुर गाउँका बडघर सुरेश चौधरीले भने। उनका अनुसार अनुसार माघी केवल खानपान र रमाइलोमा सीमित पर्व होइन, यो थारू समुदायको पहिचान, संस्कृति र सामाजिक एकताको प्रतीकका रूपमा रहेको छ।

माघीको सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये गाउँको नयाँ नेतृत्व चयन हो। माघीकै अवसरमा बस्ने गाउँसभा ‘देवानी’ मा वर्षभरको आय-व्ययको समीक्षा गरिनुका साथै आगामी वर्षका लागि नयाँ भल्मन्सा (गाउँ प्रमुख), बरघर, चौकीदार र गुरुवाको चयन गरिन्छ। रासस


प्रकाशित : शनिबार, पुस २६ २०८२१७:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend