बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस २६ २०८२
चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगन

म्याग्दी- चिसो र प्रतिकूल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजनाको निर्माण कार्य स्थगन भएको छ।

अत्यधिक चिसोका कारण खोल्सामा पानी र तुसारो जमेको, मजदुरहरूको स्वास्थ्यमा समस्या देखिने र ढलानमा प्रयोग भएको सामग्री नजम्ने अवस्था भएपछि निर्माण कार्य स्थगन भएको हो। पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेको यो आयोजना निर्माण स्थल समुद्री सतहदेखि दुई हजार ४०० मिटरदेखि दुई हजार ८०० मिटर उचाइमा छ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँले चिसो र प्रतिकूल मौसमका कारण स्थगन भएको चित्रे-घोडेपानी सडक योजनाको काम गर्मी बढेपछि फागुन महिनादेखि सुरु गरिने बताए।

चित्रेदेखि घोडेपानी जोड्ने चार किलोमिटर दूरीको सडकमध्ये चित्रेदेखि घोडेपानीतर्फ करिब दुई किलोमिटरलाई फराकिलो बनाउने, ग्रेड र घुम्ती सुधार तथा नाली बनाउने काम सकिएको छ। हालसम्म ३८ प्रतिशत भौतिक प्रगति भएको उक्त योजनामार्फत थप दुई किलोमिटरमा विस्तार, ग्रेड र घुम्ती सुधार गरी ग्राभेल गर्न बाँकी छ।

विसं २०८१ कात्तिक १४ गते रु दुई करोड २३ लाख ९६ हजारमा विकेश जय दुप्चे जेभीले ठेक्का सम्झौता गरेको थियो। गत आर्थिक वर्षमा रु ७० लाख विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु ७५ लाख विनियोजन गरेको छ।

विसं २०७५ मा गण्डकी प्रदेश सरकारको बजेटबाट मार्ग खुलेको सडक सात वर्षपछि स्तरोन्नति थालिएको हो। सडक सहज भएपछि घोडेपानी-पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने घोडेपानीका बासिन्दासमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए।

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक संघीय सरकारमार्फत गत वर्ष स्तरोन्नति भएको थियो। म्याग्दी १ (१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा रु तीन करोड बजेटको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाइएको हो।

कास्कीको नयाँपुुल, तिखेढुंगा, उल्लेरी हुुँदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना भएकाले यो योजनालाई प्राथमिकता दिएको भण्डारीले बताए।

प्रदेश सांसद भण्डारी र गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका पूर्वमन्त्री एवं सांसद रेशमबहादुर जुग्जाली  (सुविन) ले शुक्रबार उक्त योजनाको अनुगमन गरेका थिए। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ। यहाँ वार्षिक ३० हजार जनाभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउँछन्। रासस


प्रकाशित : शनिबार, पुस २६ २०८२१७:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend