बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्याङ्जाको भीरकोटबाट एकै वर्ष १० करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस २६ २०८२
स्याङ्जाको भीरकोटबाट एकै वर्ष १० करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री

स्याङ्जा- स्याङ्जाको भीरकोट-७ बाट यस वर्ष मात्रै १० करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ। वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट १० करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको हो।

वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्यांकका आधारमा यस वर्ष मात्रै ७ नं वडाबाट १० करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष तारा अर्यालले जानकारी दिए। वडाका जिमिरे, लोलुंगा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायत टोलका स्थानीय सुन्तला व्यावसायी कृषकहरूले न्यूनतम एक लाख रुपैयाँदेखि अधिकतम ३५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका उनले बताए। 

सुन्तला उत्पादक कृषकले ठेक्का तथा प्रतिकेजी किलोको ७० रुपैयाँका दरले बोटबाटै बिक्री गरेका हुन्। 'सुन्तला उत्पादक कृषकहरूले बिक्री गरेको परिमाण, मूल्यका आधारमा जानकारी लिँदा सुन्तला बिक्रीबाट १० करोड रुपैयाँभन्दा बढी आम्दानी भएको पाइयो,' उनले भने, 'वडामा सुन्तलाको बगैँचा विस्तार गर्ने क्रम जारी रहेकाले आगामी वर्षहरूमा उत्पादन वृद्धि हुँदै जाँदा आम्दानी पनि स्वतः वृद्धि हुनेछ।'

सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि कोदो, मकै हुने बारीहरूमा सुन्तला बगैँचा विस्तार गर्ने क्रम बढ्दै गएको छ। सुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको भीरकोट-७ मा तीन वर्षअघि बगैँचा विस्तार गरिएको थियो। आम्दानीसित जोड्नका लागि थप ५०० रोपनी क्षेत्रफलमा पन्ध्र हजार ५०० बिरुवा रोपिएको थियो। यहाँका कृषकहरूलाई सुन्तलाखेतीप्रति थप आकर्षित गर्नका लागि सुन्तला बगैँचा व्यवस्थापन शिविर, उपकरण हस्तान्तरण, रोगकीरा नियन्त्रणसम्बन्धी सहजीकरण तथा परामर्श दिइएको उनले बताए। 

'यहाँ उत्पादन भएको सुन्तला काठमाडौं, पोखरा, बुटवल, नारायणगढसहित स्थानीय बजारमा खपत हुने गरेको छ,' उनले भने, 'ज्याला, ढुवानीसहित हाल प्रतिकेजी ७० रुपैयाँका दरले बोटबाटै व्यापारीले लैजाने भएकाले बजारको कुनै समस्या छैन।'

भीरकोट-७ जिमिरेका सुन्तला कृषक देवीलाल अर्यालले यस वर्ष १५ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका छन्। उनले अहिले प्रतिकेजी ७० रुपैयाँका दरले सुन्तला बगैँचाबाटै बिक्री गरिरहेका छन्। सोही वडाको लोलुंगाका ७१ वर्षीय लालप्रसाद कोइरालाले पनि यस वर्ष  १५ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका छन्। यहाँका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट धेरैजसो सुन्तला बिक्री भइसकेको छ भने केही बिक्री हुने क्रममा छन्।

स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कूल २३ हजार २३८ मेट्रिकटन सुन्तला उत्पादन भएको हो। स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष २० करोड बढी  रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको हो। गत वर्ष २० हजार ८४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो।


प्रकाशित : शनिबार, पुस २६ २०८२१०:२२
  • सम्बन्धित विषय:

  • # सुन्तला
  • # सुन्तलाखेती
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend