काठमाडौं- प्रहरीले कम्पनीको कागजात दुरुपयोग गरी 'ईसेवा' मार्फत लाखौँ रुपैयाँको कारोबार गर्ने गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
काठमाडौंको कीर्तिपुर नगरपालिका-७ का १९ वर्षीय क्रमिक उप्रेती पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
उनले भने, 'अनधिकृत व्यक्तिले वाइड-स्पेस इन्टरनेशनल प्राइभेट लिमिटेडका नाममा आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातहरूको दुरुपयोग गरी ईसेवा मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानूनी रूपमा आर्थिक कारोबार गरेको भन्ने व्यहोराको उजुरीका आधारमा पक्राउ गरिएको हो।'
यसैगरी उक्त उजुरीउपर प्रारम्भिक अनुसन्धान गर्दा ईसेवा मर्चेन्ट आईडी २२२२०२००१८२१७५२७ बाट ५६ लाख ३३ हजार ६ सय ३ रुपैयाँ ७६ पैसा र ईसेवा वालेटबाट ५६ लाख ३१ हजार ६ सय ३ रुपैयाँ ७६ पैसाबराबरको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
उनले सट्टेबाजीलगायतका प्रयोजनका लागि १ करोड १२ लाख रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको प्रहरीको भनाइ छ। प्रहरीले उनको साथबाट ल्यापटप एक थान, विभिन्न मोडेलका मोबाइल दुई थान, एनसेलको सिमकार्ड १६ थान, नमस्तेको सिमकार्ड तीन थान, स्मार्ट सिमकार्ड एक थान, पेनड्राइभ एक थान तथा मेमोरी कार्ड एक थान बरामद गरेको छ।
पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको प्रवक्ता आचार्यले बताए।