काठमाडौं- सरकार घाटामा छ, राजस्वले तलब खुवाउन पनि पुग्दैन, देश कंगाल भइसक्यो भन्ने भनाइहरू पछिल्लो समय चियापसलदेखि मन्त्रालयसम्म, सडकदेखि संसदसम्म र सामाजिक सञ्जालका भित्तादेखि सञ्चारमाध्यमसम्म आइरहन्छन्।
सरकार घाटामा छ वर्षौँदेखि। सरकारमा घाटामा हुनु स्वाभाविक पनि हो। तर जनता चाहिँ के छन्? एउटा औसत नेपालीले जीवनभर गरेको श्रम आम्दानीबाट खर्च धान्न पुग्छ? एउटा नेपालीले जीवनकालमा लाभदायक आम्दानी कति वर्ष गर्छ होला?
यसको उत्तर नेपाल सरकारकै एउटा तथ्यांकले दिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा पहिलोपटक उमेर समूहअनुसारको आम्दानी, उपभोगको तथ्यांक निकालेको छ। विभिन्न माध्यमबाट संकलन गरिएका तथ्यांकलाई लिएर गरिएको यो सर्वेक्षणले देशमात्र होइन व्यक्तिका रुपमा नेपाली नागरिक पनि घाटामै रहेका छन्।
औसत नेपालीले जीवनकालमा जति श्रम गर्छ र त्यसबाट जति आम्दानी हुन्छ त्यसले उसको खर्च धान्न सक्दैन। अर्थात् नेपाली नागरिक पनि समग्रमा घाटाको जीवनचक्रमा बाँचिरहेका छन्।
एउटा औसत नेपालले २७ वर्षको उमेर हुँदा खर्चभन्दा धेरै श्रम आम्दानी गर्नसक्छ। खर्चभन्दा धेरै आम्दानी गर्ने नेपालीको औसत अवधि २० वर्षको मात्र छ। अर्थात् २७ देखि ४७ वर्षसम्ममात्र नेपालीले खर्चभन्दा धेरै आम्दानी गर्नसक्नेगरी श्रम गर्नसक्छ। ४७ पछि फेरि नेपालीको जीवनचक्र घाटामा जान्छ।
शिक्षा स्वास्थ्य खानपान तथा अन्य खर्चको औसत आवश्यकता र औसत आम्दानीको अनुमानमा यस्तो आँकडा निकालिएको हो।
अतिरिक्त आम्दानीको २० वर्ष साँघुरो घेरा अर्थतन्त्रका लागि लाभदायक मानिँदैन। ४७ वर्षकै उमेरदेखि मान्छे न्यून आम्दानीको मार्गमा अघि बढेको यो तथ्यांकले देखाएको छ। युवा र ६५ वर्षपछि स्वाभाविक रुपमा आम्दानी घट्ने भएपनि ६५ अघि नै उत्पादकत्वमा ह्रास आउने देखिएको छ। यसले गर्दा मानव पुँजीको उपयोगिता खस्किएको प्रष्ट देखिन्छ।
खर्चको कुरामा सबैभन्दा धेरै नेपालीले खाद्यन्न, आवास तथा यातायात जस्ता दैनिक गुजरामा सबैभन्दा धेरै गर्छन्। करिब ९० प्रतिहत खर्च यही शीर्षकमा हुन्छ। यो खर्च प्राय घरायसी नै हुन्छ।
त्यस्तै शिक्षामा पनि सरकारीभन्दा घरायसी खर्च नै धेरै देखिएको छ। शिक्षामा ७२ प्रतिशत खर्च नागरिक आफैले गरिरहेका छन्। संविधानले आधारभूत शिक्षा नि:शुल्क भनेपनि नागरिकले नै अहिलेसम्म शिक्षामा धेरै लगानी गरिरहेका छन्। स्वास्थ्यमा भने सरकारी खर्च धेरै छ। तर वृद्धावस्थाको स्वास्थ्य खर्च भने घरायसी नै धेरै रहेको छ।