काठमाडौं- राष्ट्रिय रुपमा २० प्रतिशतमा गरिबी रहेपनि स्थानीय तहसम्म पुग्दा त्यसको खाडल उच्च देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालय स्थानीय तहसम्मकै गरिबीको तथ्यांक सार्वजनिक गरेपछि यस्तो आँकडा निस्किएको हो।
कार्यालयको तथ्यांक अनुसार स्थानीय तहमा ७७ प्रतिशतसम्म गरिबी रहेको छ। तथ्यांक अनुसार जाजरकोटको जुनिचाँदे गाउँपालिकमा सबैभन्दा धेरै गरिबी रहेको छ। वर्षभरका लागि आवश्यक आधारभूत उपभोगको जोहो गर्ननसक्नेहरू गरिबीमा पर्छन्। राष्ट्रिय रुपमा वर्षमा यस्तो लागत ७२ हजार रहेको छ। नेपालमा कुल २० प्रतिशत यस्तो गरिबीमा रहेका छन्।
तर स्थानीय तहमा जुनिचाँदेमा ७७.८९ प्रतिशत जनता गरिबीमा छन्। त्यस्तै मुगुको सोरू गाउँपालिकमा ७२.३६ प्रतिशित गरिब रहेका छन्। सबैभन्दा न्यून गरिबी भएकामा मुस्ताङको घरपझोङ गाउँपालिकामा १.१८ प्रतिशतमात्र गरिब छन्। यो गाउँपालिकाको जनसंख्या ३ हजार ७१२ रहेकोमा ४४ जनामात्र गरिबीमा छन्। त्यस्तै मोरङको केराबारीमा २ प्रतिशतमात्र गरिबीमा छन्।
धेरै गरिबी हुने स्थानीय तह कर्णाली र सुदूरपश्चिमका छन्। यो सूचीमा लुम्बिनी र बागमतीको एउटा गाउँपालिका छन्। त्यस्तै न्यून गरिबी हुनेमा कर्णाली र सुदूरपश्चिमबाट एउटै पनि परेको छैन।
प्रादेशिक आँकडामा पनि धेरै गरिबी हुने यी दुई प्रदेश हुन्। जिल्लागत रुपमा अछाममा धेरै गरिबी छ। कुल जनसंख्याको ४९.५८ प्रतिशत गरिब छन्।
नगरपालिकामै ६४ प्रतिशतसम्म गरिबी रहेको पाइएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा ६४ प्रतिशत र सिन्धुलीको दुधौली नगरपालिकामा ६० प्रतिशत गरिबी छ।