शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

उद्यमशीलता विकासका लागि परम्परागत ऐन परिमार्जन अपरिहार्य छ : वरिष्ठ उपाध्यक्ष ढकाल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २७ २०७८
उद्यमशीलता विकासका लागि परम्परागत ऐन परिमार्जन अपरिहार्य छ : वरिष्ठ उपाध्यक्ष ढकाल

रोल्पा- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका सबै भौगोलिक क्षेत्रमा सम्भावनाको खोजी गर्दै स्थानीयस्तरमै उद्यमशीलताको विकास अपरिहार्य रहेको बताएका छन्।

उद्यमशीलता विकास र प्रवर्द्धनका लागि परम्परागत नीतिमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै ढकालले परम्परागत कानून नै उद्यमशीलता विकासमा अवरोधका रुपमा रहेको बताए।

रोल्पा उद्योग वाणिज्य संघको १८ औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, 'निजी क्षेत्रको विकास रोक्ने कानुन परिमार्जन हुनु जरुरी छ।

अर्थमन्त्री जनार्दन शर्मासमेत उपस्थित कार्यक्रममा ढकालले उद्यमशीलता विकाससँगै रोजगारी सिर्जना र साधन स्रोतको उपयोगका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता रहेको बताएका छन्।  

वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगर उद्योग वाणिज्य संघलाई चुनावका बेलामा मात्र सम्झने, भ्रमण गर्ने र चुनाव जितिसकेर बिर्सने प्रवृत्तिबाट आफू मुक्त हुन चाहेको बताए। उनले रोल्पाका व्यवसायीहरुले जिल्लामै रोजगारी बढाउने, स्थानीय साधन स्रोतको उपयोग गर्ने खालका व्यवसाय अघि बढाएमा आफूले निजी क्षेत्रको नेतृत्वका तर्फबाट मात्र नभै आइएमई समूहको अध्यक्ष एवं ग्लोबल आईएमई बैंकको अध्यक्षका रुपमा सहयोग गर्न तयार रहेको बताए।

'हरेक प्रदेशमा कुनै न कुनै व्यवसायमा लगानी गर्ने हाम्रो योजनाअनुसार हाल पोखरा, गैंडाकोट, बुटवल, कर्णाली लगायतका क्षेत्रमा केबलकारलगायतका व्यावसायिक परियोजना अघि बढिरहेका छन्,' उहाँले भने, 'रोजगारी सिर्जना गर्ने, स्रोतसाधनको उपयोग गर्ने कुनै व्यावसायिक योजना छन् र त्यसका लागि पुँजी पर्याप्तता नभएमा हामी सहकार्य गर्न तयार छौं।'

ढकालले रोल्पा उद्योग वाणिज्य संघको निवर्तमान कार्यसमितिलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिनुभएको थियो । संघसँग सहकार्य गर्दै आर्थिक क्षेत्रको विकासमा लागिरहने उनको भनाइ छ।


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८१३:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend